काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति नरहेको बताएका छन् । सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘ ‘केपी ओलीज्युलाई दुई वटा अवसर प्राप्त भएको छ, दुई तिहाईको प्रधानमन्त्री हुनुभयो, त्यो भन्दाअघि पनि प्रधानमन्त्री हुनुभयो, प्रधानमन्त्री भएर देशले के प्राप्त गर्यो भनेर उहाँले गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति छैन ।’
उनले अहिले अध्यक्ष ओलीलाई दुई वटा अवसर प्राप्त भएको भन्दै देश र जनताले प्राप्त गर्नेगरी काम गर्न आग्रह गरे । उनले अध्यक्ष ओली जीवन र राजनीतिको उत्तरार्धमा रहेको भन्दै देश र जनताको लागि काम गर्न आग्रह गरे ।
‘म के आग्रह गर्न चाहन्छु भने यो पटक प्रधानमन्त्री हुँदा देशको लागि हुनुस्, जनताका लागि हुनुस्, गुटको लागि नहुनुस्, पछिल्लो पटक प्रधानमन्त्री हुँदा यो यो गर्नुभयो भनेर भन्नेसक्ने, थाहा पाउने गरी नेतृत्व गर्नुस् ,’ उनले भने ।
सांसद पौडेलले कसैलाई सम्मान नगर्ने, संयोजन गर्न नसक्ने मान्छे भन्दै लाग्ने गरेको आरोपलाई मिथया सावित गर्नेगरी काम गर्न आग्रह गरे ।