काठमाडौं, १३ माघ । नेपालले तेस्रो मुलुक बंगलादेशमा पनि विद्युत् निर्यात गर्न पाउने भएको छ । अन्य देशसँग विद्युत् व्यापार सम्झौता नभएका कारण नेपालमा उत्पादित विद्युत् निर्यात बजार भारत मात्र थियो । केही समय अघि बंगलादेशले भारतको भूमि हुँदै नेपालबाट विद्युत् आयात गर्ने सम्बन्धमा भारतसँग सम्झौता गरेसँगै अब नेपालमा उत्पादित विद्युत बंगलादेश पठाउन ढोका खुलेको हो । अब नेपाल भारतबीच सम्झौता भएपछि नेपालमा उत्पादित विद्युत् भारतीय भूमी प्रयोग गरेर बंगलादेश लैजान सकिएको छ ।
नेपालबाट विद्युत् खरीद गर्ने योजना बंगलादेशले निकै अघिदेखि रणनीतिक योजनाको रुपमा अघि बढाएको थियो । केही समयअघि नै नेपालमा उत्पादित विद्युत् आफूले खरीद गर्ने योजनाका साथ बंगलादेशले नेपालको जलविद्युत्मा एक खर्ब नेपाली रुपैयाँ लगानी गर्ने प्रस्ताव समेत गरेको छ । देशको उच्च विद्युत् मागलाई परिपूर्ति गर्न बंगलादेशले छिमेकी देशहरू भारत, भुटान र नेपालबाट विद्युत् खरीद गर्ने रणनीति अघि बढाएको छ ।
बंगलादेशले हाल १५ हजार मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । सन् २०३० सम्ममा विद्युत् माग ३५ हजार मेगावाट पुग्ने बंलादेशले प्रक्षेपण गरेको छ । सोही विद्युत् परिपूर्तिका लागि छिमेकी देशहरूको बंगलादेशबाट विद्युत्मा लगानी र खरीद विक्री प्रक्रिया अगाडि बढाउन लागेको हो । बंगलादेश विगत ७ वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरेको छ ।
नेपाल विद्युत् व्यापारका लागि बंगलादेशसम्म पुग्न पाउनुले यसको विकासको गतिमा तीव्रता आउने ऊर्जा मन्त्री जनार्दन शर्माले बताएका छन् । धेरै वर्षदेखि नेपालबाट विद्युत् आयातका लागि बंगलादेशले सम्झौता गर्ने प्रयास गर्दै आएको छ ।
नेपाल- बंगलादेश विद्युत् उत्पादन तथा व्यापार सम्झौता गत पुसको तेस्रो साता गर्ने भनिएपनि हालसम्म सम्झौता हुन नसकेको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले बताए । यस सम्बन्धमा बंगलादेशमा छलफल भइरहेको छ । शर्माले बंगलादेश गएका बेला मन्त्रीस्तरीय कुराकानी गरी सम्झौता सम्बन्धि प्रक्रिया अघि बढाइएको हो । अब दुवै देशले यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेपछि नेपालले भारतसहित अर्को बंगलादेशसँग पनि विद्युत् व्यापार गर्ने बाटो खुल्नेछ । हरेक ऊर्जामन्त्रीले ऊर्जा क्षेत्रमा वैदेशिक लगानीलाई आह्वान गरिएको छ । तर, ऊर्जा मन्त्रालयले शर्माले पहिले आन्तरिक आवश्यकता पूरा गर्ने, त्यसपछि खपत वृद्धि गर्ने गरी औद्योगिक तथा अन्य विकासमा जोड दिने र त्यसबाट पनि बचेको विद्युत् मात्र निर्यात गर्ने बताएको छ ।
यदि मन्त्रीले भनेजस्तै विद्युत् उत्पादन अनुरूप अन्य विकासको गति पनि अघि बढ्ने हो भने अभैm लामो समय नेपालको विद्युत् निर्यातको सम्भावना छैन । अर्कोतिर रसुवागढीस्थित केरुङको बाटो हुँदै अन्तरदेशीय विद्युत् प्रसारण लाइन विस्तारमा चीनले पनि चासो देखाइ रहेको छ । चीन छिमेकी राष्ट्र भएर पनि हालसम्म विद्युत व्यापार सम्झौता हुन सकेको छैन । |
भारतले पछिल्लो समय निर्देशिका जारी गरेर भारतीय भुमीबाट विद्युत अन्यत्र लैजानको लागि निश्चित शर्तहरू मान्नुपर्ने व्यवस्था गरेको छ । तर, ‘सार्क इलेक्ट्रिकल फ्रेम एग्रिमेण्ट’अनुसार सार्क राष्ट्रबीच विद्युत् आदानप्रदान गर्न सम्भव छ । जुन एग्रिमेण्टले दक्षिण एशियाली राष्ट्रहरूका बीचमा ऊर्जाक्षेत्रमा लगानी तथा व्यापार गर्न सकिने प्रावधान रहेको छ । त्यस्तै बंगलादेश, भुटान, भारत र नेपालबीचको सार्क उपक्षेत्रीय सङ्गठन (बीबीआईएन)को सीमापार विद्युत् आदानप्रदानसम्बन्धी व्यवस्थाले पनि नेपाल-बंगलादेश विद्युत् आदान-प्रदानलाई सम्भव देखाएको छ ।