
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत राजपत्रांकित तेस्रो श्रेणीका कर्मचारीहरूले मन्त्रालयमा धर्ना दिएका छन् ।
बुधबार पनि अधिकृत स्तरका कर्मचारीहरूले मन्त्रालयको प्रवेशद्वारमा धर्ना दिएका हुन् । २०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक विरोध स्वरुप धर्नामा बसेको कर्मचारीहरुको भनाइ छ ।
कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको बाली संरक्षण अधिकृत तोयानाथ जोशीले बताए ।

उनले आन्दोलन असार १४ गतेदेखि शुरु गरेको भएपनि धर्ना कार्यक्रम १६ गतेदेखि सञ्चालन गरेको बताए । ६ वर्ष भइसक्दासमेत वृत्ति विकास नगरेको र नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम नगरेकाले धर्ना दिनुपरेको जानकारी दिए ।

‘हामीले यो आन्दोलन १४ गतेदेखि शुरु गरेका हौँ, यो हामीलाई २०७५ मा सामान्य प्रशासन मन्त्रालयले समायोजन गरेको थियो, संघमा संख्या १० र समायोजन २० गरेजसरी बढी संख्यामा समायोजन गरेको थियो, दरबन्दी मिलाउनका लागि हामीले यो धर्ना कार्यक्रम गरेका हाैँ, हामी सबै अधिकृतहरुले हाजिरी गरेका छैनौँ, सबै बिदामा बसेका छौँ’, उनले भने ।
उनले सबै अधिकृतहरुले हाजिरी नगरेको र सबै अधिकृतहरू बिदामा बसेको पनि बताए ।
