काठमाडौं । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सयम बढाउन एमाले नेताहरूले गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरेका छन्।
बुधबार एमालेका नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौं जिल्ला कमिटीका नेताहरूले गृहमन्त्री लामिछानेलाई सिंहदरबारमा भेटेर काठमाडौंमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मितिलाई केही पछि धकेल्न आग्रह गरेका हुन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) लिनका लागि २८ जिल्लाका लाभग्राहीलाई आउने साउन १ गतेदेखि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्ने निर्णय गरेको थियो। त्यो निर्णयले लाभग्राहीले सास्ती खेप्नुपरेको भन्दै एमाले जिल्ला कमिटी लामिछानेको ध्यानाकर्षण गराएको हो ।
एमाले काठमाडौं जिल्ला सांसद कृष्णगोपाल श्रेष्ठले साउनभित्र काठमाडौंमा भत्ता लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य चाहिने भएपछि ज्येष्ठ नागरिकका लागि पीडादायी भएको उल्लेख गर्दै उत्त मिति सार्न आग्रह गरेको हो।
श्रेष्ठले ज्येष्ठ नागरिकलाई सेवा लिन सहजीकरण गर्नको लागि गृह प्रशासनको ध्यानाकर्षण गराएको बताए । ध्यानाकर्षणपछि गृहमन्त्रीले सकारात्मक रूपमा लिएको र सहजीकरण गर्ने तथा पहल गर्ने बताएको उनले जनाए ।
सार्वजनिक सेवाभित्र सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा र निवृत्तिभरण सुविधा, राजस्वसम्बन्धी (व्यक्तिगत आयकर दर्ता) सवारी चालक अनुमति पत्र, कम्पनी दर्ता तथा नवीकरण जस्ता सुविधा रहेका छन् ।