सेबोन अध्यक्ष प्रकरण : महान्यायाधिवक्ता कार्यालयले दियो दुई सुझाव, पहिलो सुझाव कार्यान्वयन गर्ने तयारी

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा माग गरेको रायमा महान्यायाधिवक्ता कार्यालयले जवाफ दिएको छ । कार्यालयले बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउनका लागि अध्यक्ष छनोट समितिलाई सम्पूर्ण अधिकार दिएको छ । तर, कानुनी प्रक्रिया भने अवलम्बन गर्न आग्रह गरेको छ । महान्यायाधिवक्ता कार्यालयले दुई जनाको नाम सिफारिस गर्न नमिल्ने भएकाेले कम्तिमा ३ जनाको नाम [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा माग गरेको रायमा महान्यायाधिवक्ता कार्यालयले जवाफ दिएको छ । कार्यालयले बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउनका लागि अध्यक्ष छनोट समितिलाई सम्पूर्ण अधिकार दिएको छ । तर, कानुनी प्रक्रिया भने अवलम्बन गर्न आग्रह गरेको छ ।

महान्यायाधिवक्ता कार्यालयले दुई जनाको नाम सिफारिस गर्न नमिल्ने भएकाेले कम्तिमा ३ जनाको नाम सिफारिस गर्न सक्ने सुझाव दिएको अर्थमन्त्रालय स्रोतले बताएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार कानुनी रूपमा कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भएकाले समितिले कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्न सकिने सुझाव दिएको हाे ।

‘महान्यायाधिवक्ता कार्यालयबाट तीन जनाको नाम सिफारिस गर्नु पर्ने राय आएको छ, तीन जनाको नाम सिफारिस गर्नु परेमा दुई जना अन्तर्वार्ता दिएका र अन्य एक जनालाई योग्यताको आधारमा सिफारिस गर्न सकिन्छ, यो प्रक्रिया रद्द गरेर नयाँ प्रक्रियामा पनि जान सकिने राय महान्यायधिवक्ता कार्यालयले दिएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियाका क्रममा सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाले अन्तर्वार्ता तथा कार्यप्रस्तुति नै दिएनन् । २ जनाले मात्रै अन्तर्वार्ता तथा कार्यप्रस्तुति गरेपछि नियुक्ति प्रक्रिया अवरुद्ध भएको थियो । गत बिहीबार अर्थ मन्त्रालयमार्फत महान्याधिवक्ताको कार्यालयलाई पत्र पठाइएकोमा उक्त पत्रको जवाफ कार्यालयले मन्त्रालयमा पठाएको हो ।

अध्यक्षका लागि सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठले मात्रै अन्तर्वार्ता दिएका थिए । बाँकी ३ जना डा नवराज अधिकारी, चिरन्जीवी चापागाई र कृष्ण कार्कीले अन्तर्वार्ता तथा प्रस्तुति नदिएपछि प्रक्रिया लम्बिएको हो ।

स्रोतका अनुसार अध्यक्ष नियुक्ति प्रक्रियालाई नलम्ब्याउनका लागि अहिले अन्तर्वार्ता दिएका दुई जना र अन्तर्वार्ता नदिएका तीन जना मध्येबाट एक जनालाई उत्कृष्टतताको आधारमा छनोट गरेर तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने तयारी भइरहेको छ ।

Share News