काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले बजेटमार्फत् स्थीर कर नीति घोषणा गर्ने तयारी भएको भएपनि अन्तिमावरमा आएर त्यसबाट पछि हट्नु परेको बताएका छन् मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस पटकको बजेटमार्फत् पाँच वर्षका लागि करका दर हेरफेर नगर्ने भनेर घोषणा नै तयारी भए पनि अन्तिम आवरमा आएर पछि हटेको धारणा राखेका हुन् ।
‘आगामी आर्थिक वर्षको बजेट मार्फत् करका दरमा सामान्य हेरफेर भएको छ, करहरू आगामी ५ बर्षसम्मका लागि स्थिर राख्ने गरि मस्यौदा बनिसकेको थियो । तर, अन्तिम समयमा हामीलाई केही डर लाग्यो, त्यो नीतिबाट ब्याक भएर केहीमा कर हेरफेर गर्यौं,’ उनले भने ।
उनले नीतिगत स्थिरता कायम गर्न बजेट आएको धारणा राखेका छन् । पुर्वाधार निर्माणमा जाने बजेट पनि बढाइएको बताउँदै प्रदेश र स्थानीय तहबाट छुट्याउनु पर्ने योजना बजेटमा समावेश भएकाले त्यसमा सुधार गर्दै जाने धारणा पनि उनले राखे ।
कार्यान्वयनयोग्य र पुँजीगत खर्च बढाउने गरि बजेट आएको बताउँदै प्रभावकारी रुपमा बजेट कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे ।
यस्तै, उनले अब बजेट कार्यान्वयनका लागि मौद्रिक नीतिले साथ दिनु पर्ने बताए । ‘म राष्ट्र बैंकको सचालक समितिमा भएकाले बजेट नीति अनुरुप मौद्रिक नीति ल्याउन जोड दिनेछौं, अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा उनले सहुलियतपूर्ण कर्जाको रकम पठाइसकेको पनि जानकारी गराए । अन्य क्षेत्रको अनुदान रकम पनि पठाउने तयारी छ तर दुरुपयोग हुने खतरा भएपछि रोक्ने अभ्यास गरेको उनको भनाइ छ ।
उनले बैंकिङ क्षेत्रमा भएको ६ खर्ब रकम बजारमा पठाउन सरकारले वातावरण बनाइरहेको पनि बताए । ‘चार प्रतिशतको आर्थिक वृद्धले सोचेअनुरुप विकास हुँदैन, अब अर्थतन्त्रको एक्सरे गरेर आर्थिक वृद्धि गर्नुपर्ने बेला भइसकेको छ,’ उनले भने ।