काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको दाबी समेत गरे । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गर्दै हट्छ कि भन्ने चिन्ता नलिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।
सरकारमा रहँदासम्म भ्रष्टाचार,सामाजिक न्याय र समृद्धिको निम्ति आफूले काम गर्ने प्रधानमन्त्री दाहालको भनाई थियो । उनले सरकारमा रहँदासम्म सत्तारुढ दलहरुबीच भएको समझदारीलाई इमान्दारितापूर्वक कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि दोहोर्याए ।
‘अब हामी छिट्टै केन्द्रिय समितिको बैठक बसेर पार्टीबाट पनि अभियानात्मक रुपले लैजाने । त्यसकारण अब यो अन्तिम समयसम्म साथीहरु, नेताहरु कार्यकर्ताहरु कसैलाई पनि फुर्सद नदिने आत्मनिर्भर अर्थतन्त्रका निम्ति, उत्पादनको निम्ति, रोजगारीको निम्ति, जातीय मुक्तिको निम्ति यी सबै विषयका विभिन्न कहिले सांस्कृतिक अभियान, कहिले उत्पादनको अभियान, कहिले प्रचारको अभियान आदि इत्यादि गर्दै हामी अभियानात्मक रुपमा जाने सोचेका छौं’, उनले भने ।
प्रधानमन्त्री दाहालले सरकार कायम रहने भएकाले सोही अनुसार ढुक्क भएर काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिए ।