बैंकले कर्जा असुलीमा थालेका प्रयासहरू

<p>काठमाडौं । विगत केही वर्ष बैंक तथा वित्तीय संस्थाहरूको ब्यालेन्ससिट (वित्तीय प्रतिवेदन)मा ठूलो परिवर्तन आयो । अधिकांश बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय प्रतिवेदनमा नोक्सानी वा ऋणात्मक देखिए । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो, दोस्रो र तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदन पनि खासै उत्साहजनक देखिएका छैनन् । घरजग्गा कारोबारसहित समग्र अर्थतन्त्रमा मन्दी छाएपछि त्यसको प्रत्यक्ष असर [&hellip;]</p>

काठमाडौं । विगत केही वर्ष बैंक तथा वित्तीय संस्थाहरूको ब्यालेन्ससिट (वित्तीय प्रतिवेदन)मा ठूलो परिवर्तन आयो । अधिकांश बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय प्रतिवेदनमा नोक्सानी वा ऋणात्मक देखिए । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो, दोस्रो र तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदन पनि खासै उत्साहजनक देखिएका छैनन् ।

घरजग्गा कारोबारसहित समग्र अर्थतन्त्रमा मन्दी छाएपछि त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा पनि परेको बैंकहरूको गुनासो छ। विगतमा बैंकहरूको नाफा, ब्याज आम्दानी घट्यो भने खराब कर्जा (एनपीएल) बढ्न पुग्यो । बैंकहरूले प्रवाह गरेकाे कर्जा (ऋण) असुली सोचेअनुरूप हुन सकेन । उल्टै उद्योगी व्यवसायीहरूले ब्याजदर उच्च भएको भन्दै बैंकविरूद्ध आन्दोलनसमेत गर्न भ्याए ।

पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको ब्याजदर न्यून बिन्दुमा हुँदा कर्जा असुलीमा बैंकहरू सक्रिय हुन थालेका हुन् । चालु आर्थिक वर्षको चौथाे त्रैमासिक वित्तीय प्रतिवेदन उत्साहजनक बनाउन प्रयास गरिरहेका छन् । आर्थिक वर्षको अन्तिम महिना असारमा बैंकरहरू सक्रिय भएर कर्जा असुलीमा खटिएका छन् ।

यतिबेला बैंकहरू कर्जा असुलीमा खटिरहँदा ऋणीहरूलाई सहज होस् भन्ने हेतुले विभिन्न छुट तथा सुविधाका योजना सार्वजनिक गरिरहेका छन् । एनआईसी एशिया बैंकले २०८१ जेठभित्र कर्जा चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण बक्यौता ब्याजमा छुट प्रदान गर्ने योजना ल्यायो । कर्जातर्फका ग्राहकहरूलाई सहज होस् भनेर बैंकले २०८० चैतसम्म भाखा नाघेका कर्जामा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकममा छुट पाउने छन् ।

बैंकका अनुसार मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालु पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूमा आर्थिक शिथिलताका कारण मर्कामा परेका ग्राहकहरूले उक्त योजनाको फाइदा लिन सक्नेछन् । ९१ दिनदेखि १८० दिन अवधिको १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिन अवधिको २५ प्रतिशत र ३६५ दिनभन्दा बढी अवधि भाखा नाघेका ऋणीलाई ३५ प्रतिशत छुट दिने बैंकको योजना छ ।

यस्तै, नेपाल बैंकले पनि कर्जा लिएका ग्राहकहरूलाई असारसम्म लागु हुने गरी छुट सुविधा ल्याएको छ । कर्जा उपभोग गरी वि.सं २०७५ चैत्र अगाडि खराब वर्गमा वर्गीकरण भएका, बक्यौता सावाँ ५० लाख रुपैयाँसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई ब्याज छुट दिने बैंकले जनाएको छ । साथै, २०७६ वैशाखदेखि हालसम्म कर्जाको बुझाउनु पर्ने सम्पूर्ण सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा पेनाल ब्याज र ब्याजको ब्याजमा सम्पूर्ण छुट दिई साधारण ब्याज रकममा समेत ५ प्रतिशत छुट दिने बैंकको भनाइ छ ।

एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) गोविन्द घिमिरे केन्द्रीय बैंकको जारी गरेका निर्देशनभित्र रहेर ऋणीहरूलाई सुविधा दिने गरेको बताउँछन् । विगतका वर्षहरूमा पनि ऋणीहरूलाई कर्जा पुनरसंरचनाको सुविधा दिने गरेको र हाल पनि सो सुविधालाई निरन्तरता दिइरहेको उनको भनाइ छ ।

‘केन्द्रीय बैंकको निर्देशनभित्र रहेर जेजे सुविधा दिन मिल्छ, त्यो सुविधा दिन्छौं । पुनर्संरचना तथा पुनरतालिकीकरणको सुविधा छ । तोकिएको अवधिसम्म ब्याज तिरेपछि कर्जालाई पुनरसंरचना गर्न सकिन्छ । यो सुविधा पहिलादेखि नै थियो,’ उनले भने ।

उनका अनुसार ऋणीहरूले कर्जाको ब्याज तिरेर नियमित गर्न चाहेको अवस्थामा पेनाल छुट पनि दिन सकिन्छ । यसरी ब्याज छुट र पेनाल छुट दिँदा कर्जा असुलीमा सहज हुने उनको भनाइ छ । अधिकांश बैंकले स्कीम सार्वजनिक नगरेको भएपनि आवश्यकताका आधारमा सुविधा दिने गरेको उनले बताए । बैंकहरूको चौथो त्रैमासको वित्तीय प्रतिवेदनमा ठूलो उतारचढाव नआउने तर सकारात्मक दिशातर्फ जाने संकेत रहेको उनको बुझाइ छ ।

‘व्यापार गर्दागर्दै अफ्ठेरोमा परेका व्यक्ति जसको मनसाय सकारात्मक छ, कर्जा सेटल गर्छु भन्नुहुन्छ भने सुविधा दिन सकिन्छ, स्कीम सार्वजनिक नगरेपनि ‘वान टु वान’ ग्राहकको अवस्था हेरेर सुविधा दिइरहेका छौं,’ उनले भने, ‘विस्तारै सुधारोन्मुख हुँदै जाँदा आगामी आर्थिक वर्षबाट सहज अवस्था हुने आशातित छौं, चौथो त्रैमासमा बैंकको खराब कर्जामा खासै परिवर्तन आउँदैन ।’

आर्थिक वर्षको अन्त्यमा बैंकरहरू ऋण असुलीमा सक्रिय छन् । विगतमा खासै उत्साहजनक नभए पनि चौथो त्रैमासमा भने उत्कृष्ट गर्नेगरी बैंकहरू खटिरहेका छन् । पछिल्लो समय व्यापार व्यवसाय बढ्न थालेपछि भने मनोबल पनि बढेको बैंकरहरूको भनाइ छ ।

एक बैंकका सीईओका अनुसार असार लागेसँगै बैंकरहरू कर्जा असुलीमा दौडधुप गरिरहेका छन् । असारमा पुँजीगत खर्च पनि धेरै हुने भएकाले अधिकांश बैंकरहरू रिकभरीमा जोड दिइरहेका छन् । साथै चौथो त्रैमासमा खराब कर्जा खासै नबढ्ने तर नघट्ने स्थिति रहेको उनको भनाइ छ ।

‘असारको चटारो छ, बैंकरहरू रिकभरीमा धौडधुप गरिरहेका छन्, एनपीएल बढ्दैन तर घट्दैन पनि, जलविद्युत क्षेत्रबाहेक ठूला कर्जाको माग खासै नभएपनि स-सानो कर्जा भने गइरहेको छ, कर्जा दिने मान्छेको मनोबल बढेको छ । तर, लिने मान्छेको मनोबल बढ्न सकेको छैन,’ उनले भने, ‘जस्तो माग आयो त्यस्तै कर्जा दिएका छैनौं, धेरै होसियार भएर काम गर्नु परेको छ, ग्राहकहरू पनि उत्तिकै होसियार छन् ।’

कृषि विकास बैंकका नायव महाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेका अनुसार चौथो त्रैमासको वित्तीय प्रतिवेदन राम्रो बनाउन बैंकरहरू प्रयासरत छन् । कृषि विकास बैंकले कर्जाको ब्याज बुझाउने, डिफल्ट, ग्यारेन्टी चुक्ता गर्नेलाई निरन्तर प्याकेजमा १० प्रतिशत छुट दिएको उनको भनाइ छ । विगतमा बिग्रेको, तीन वर्षमाथि भाखा नाघेको कर्जाको अवस्था र ऋणीको अवस्था हेरेर छुट प्याकेज रहेको उनले बताए ।

‘ऋणीहरूलाई प्रत्यक्ष भेट्ने, कर्जा चुक्ता र लोन डिफल्ट नगर्न आग्रह गर्ने, डिफल्ट गरे राष्ट्र बैंकको नीति निर्देशन अनुरुपमा थप कारोबार गर्न गाह्रो हुन्छ भनेर सचेत गराउने, ऋणीलाई फकाउने, चिठीपत्र काटेर ताकेता गर्ने गरेका छौं,’ उनले भने, ‘धेरै ताकेता गर्ने भन्दा पनि फकाएर सहज स्थिती बनाएर तोकेको विधि र प्रक्रिया अनुसार असुली गर्छाैं । राष्ट्र बैंकको निर्देशन अनुरूप २१ दिने चिठी काट्ने, लिलामी प्रक्रिया अघि बढाउने कार्य निरन्तर भइरहन्छ ।’

उनका अनुसार ब्याज तिर्न नसकेका ग्राहकलाई १० प्रतिशत छुट दिइरहेका छन् । साथै कार्यबिधि अनुसारको छुट प्याकेज पनि उपलब्ध छन् । ग्राहकको मृत्यु भएको र परियोजना डिफल्ट भएका कर्जामा १० प्रतिशतदेखि अधिकतम् ६० प्रतिशतसम्म छुट दिने गरेको उनको भनाइ छ ।

‘चौथो त्रैमासमा सुधार हुने अपेक्षा छ । कृषि बैंकको एनपीएल घटाउने रणनीति छ । विभिन्न कार्यक्रम तथा गतिधिवि भइरहेका छन् । ठूला आयोजानामा कर्जा लगानी भएका छन् । अब अर्थतन्त्र चलायमान र सुधार हुने संकेत देखिन्छ । घरजग्गा कारोबारमा सुधार भएको र बाह्य क्षेत्र सुधार अवस्थामा छ,’ उनले भने ।

घरजग्गा र कित्ताकाट खुला भएको र घरजग्गा क्षेत्रमा कारोबार बढेको हुँदा रिकभरीमा केही सहज हुने अपेक्षा बैंकरहरूले गरेका छन् ।

Share News