काठमाडौं । रिकन्डिसन अटो व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूले आफूहरूलाई नपत्याएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले अटो व्यवसायीहरूलाई कम्पनीमै गएर ऋण लिनका लागि आग्रह गर्ने भए पनि आफूहरूलाई नपत्याउने गरेको गुनासो गरेका हुन् ।
सोमबार आर्थिक पत्रकारहरूसँग छलफल गर्दै उनीहरूले यस्तो गुनासो गरेका हुन् । नेपालमा गाडीको रिकन्डिसन बजार राम्रो भए पनि बैंकहरूले फाइनान्स गर्न नमान्दा बजार विस्तार गर्न असहज भइरहेको धारणा उनीहरूको छ ।
नेपाल रिकन्डिसन अटो व्यवसायी संघका कानुनी सल्लाहकार तथा अधिवक्ता रुद्र ढुङ्गेलले अहिले नेपाली बजारमा नयाँ गाडीभन्दा पुराना गाडीको खरिद बिक्री बढी हुने धारणा राखे । उनका अनुसार ग्राहकहरूले एक÷दुई महिना अगाडि मात्रै खरिद गरेको गाडीलाई विदेश वा कहीँ कतै जानु पर्ने कारण देखाएर बिक्री गर्ने गरेको सुनाए । यसले पनि रिकन्डिसन अटो बजार चलायमान भइरहेको उनको भनाइ छ ।
‘अहिले नयाँ गाडीभन्दा पुराना गाडीको व्यापार राम्रो छ, बैंकले फाइनान्स गर्न मानेको भए राम्रो हुन्थ्यो । तर, बैंकले हामीलाई पत्याएका छैनन्,’ उनले भने ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष रमेश प्रसाद कोइरालाले भने, झट्ट हेर्दा सामान्य किसिमको व्यापार भए पनि यसले ठूलो क्षेत्र ओगटेको बताए । उनले पनि बैंक तथा वित्तीय संस्थाले रिकन्डिसनका गाडी र विद्युतीय सवारी साधनमा फाइनान्स गर्न नमानेको गुनासो गरे ।
अध्यक्ष कोइरालाले अटो व्यवसायमा परिवर्तनशील प्रविधिहरूको प्रयोग हुन आवश्यक रहेको बताए । ‘अटो व्यवसायमा परिवर्तनशील प्रविधिहरूको प्रयोग हुन आवश्यक छ, आधुनिक प्रविधिहरूको ज्ञान र सीपको प्रयोगबाट हामी हाम्रो व्यवसायलाई अझ प्रतिस्पर्धी बनाउनेछौँ । यसले हामीलाई नयाँ बजारमा प्रवेश गर्न र वर्तमान बजारमा आफ्नो स्थिति बलियो बनाउन मद्दत गर्छ,’ उनले भने ।
पुराना गाडी सट्टापट्टा तथा बिक्री गर्दै आएका व्यवसायीहरूले आफ्ना जटिल समस्याहरू भए पनि त्यसबारे राज्य बेखबर रहेको गुनासो गरेका छन् । अटो व्यवसाय क्षेत्रमा देखिएका देखिएका फरक प्रवृत्तिहरु र अवसरहरूलाई सही सदुपयोग गर्दै यस व्यवसायलाई नयाँ उचाइमा पु¥याउने उनले प्रतिबद्धता पनि व्यक्त गरे ।
यस्तै, उनीहरूले रिकन्डिसनका सवारी साधन छिटो बिग्रन्छन्, पेट्रोलको प्रयाग बढी हुन्छ र बढी खर्च लाग्छ भन्ने विषय भ्रम रहेको बताए । उनीहरूले राम्रो सर्भिसिङ्ग र राम्रो पार्टपुर्जा राख्न सकेमा रिकन्डिसनका सवारी साधन पनि बलियो र कम खर्चालु हुने धारणा राखेका छन् ।
नेपाल रिकन्डिसन अटो व्यवसायी संघ ‘प्रयोग भइसकेका वा रिकण्डीसन अटोमोवाइल्स’हरुको खरिद तथा बिक्री गर्ने व्यवसायीहरूको छाता संस्था हो । यो २०७२ साल फाल्गुण १९ गते स्थापना भएको हो । हाल यस संघमा देशभरिबाट करिब १४४ जना सदस्यहरू सक्रिय रहेका छन् । कोशी र गण्डकी प्रदेशमा संघको प्रदेश संगठनहरू गठन भई यसै आर्थिक वर्ष भित्रमा अन्य पाँच वटा प्रदेशहरूमा समेत प्रदेश संगठनहरु तयार गर्ने संघको लक्ष्य छ ।