काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा निकासा हुने समानीकरण अनुदानबापतकाे रकम १० गतेसम्म पनि निकासा नगरे असार १३ गतेबाट सिंहदरबार केन्द्रित दबाबमूलक कार्यक्रम गर्ने गाउँपालिका तथा नगरपालिका संघले चेतावनी दिएका छन् ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले संयुक्तरूपमा विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।
सरकारले चालु आर्थिक वर्षमा निकासा हुने समानीकरण अनुदानबापतको रकम निकासा गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म मन्त्रिपरिषद्बाट कुनै निर्णय नगरिएकोले रकम निकासा हुँदैन कि भन्नेमा थप आशंका बढेको नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले बताएका छन् ।
विद्यमान कानुनबमोजिम असार १० गतेभित्र स्थानीय सरकारले आगामी आवको नीति तथा कार्यक्रम र बजेट गाउँ/नगरसभामा पेस गरिसक्नुपर्ने भएकोले तोकिएको मितिभित्र सबै स्थानीय सरकारहरूले अनिवार्य रूपमा गाउँ/नगर सभामा पेस गरिसक्न सबैमा आह्वान गरेको उनले बताएका छन् ।
उनका अनुसार असार १० गतेसम्म पनि नेपाल सरकारले चालु आवमा काटिएको समानीकरण अनुदान निकासा नगरेमा असार १३ गतेबाट सिंहदरबार केन्द्रित दबाबमूलक कार्यक्रम गर्ने बताएका हुन् । यसका लागि सबै स्थानीय सरकारका सम्पूर्ण जनप्रतिनिधि (वडाध्यक्ष र सदस्यहरूसमेत) लाई अनिवार्यरूपमा असार १२ गते बेलुकासम्म काठमाडौं आइसक्न पनि आह्वान गरेको उनले बताएका छन् ।
असार १३ गतेदेखिको दबाबमूलक कार्यक्रमको खाका र संयोजन दुवै संघ/महासंघको संयुक्त बैठकले तय गरेबमोजिम हुने र सोको जानकारी असार १२ गतेभित्र सबैलाई गराइसकिने पनि विज्ञप्तिमा उल्लेख छ ।
समानीकरण अनुदानमध्ये कटौती गरिएको २५.८९ अर्थात २४ अर्ब ४८ करोड रकम निकासाका लागि संघ र महासंघले यसअघि नै सरकारलाई दबाव दिँदै आएको छ ।
प्रधानमन्त्री, अर्थमन्त्री, राजनीतिक दलका प्रमुखहरू, प्रतिनिधि सभामा संसदीय दलका प्रमुख सचेतकहरूसँग पटक-पटक भेट गरी समानीकरण अनुदान कटौती नगर्न ध्यानाकर्षण र अनुरोध संघ र महासंघले गरिसकेको छ ।
त्यस्तै जेठ २० गते सांकेतिकरूपमा अर्थ मन्त्रालय परिसरमा करिब २ सय जना जनप्रतिनिधिले २ घण्टा धर्ना गरी सरकारको ध्यानाकर्षण गराएका थिए ।