काठमाडौं । तनहुँको व्यास नगरपालिकाको मत गणना विवादलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले एक विवादमा उच्च अदालत पोखराले पुनः मतगणनाको आदेश दिएपछि संवैधानिक र कानुनी प्रश्न उब्जाउँदै सर्वोच्चमा रिट दिएका हुन् ।
रिटमा पुनः मतगणनाको आदेश रोक्न तत्कालका लागि अन्तरिम आदेशको माग गरिएको छ । सर्वोच्च अदालत प्रसासनले उक्त रिटमा सुनुवाइका लागि जेठ २७ गतेका लागि पेसी तय गरेको छ ।
उच्च अदालत पोखराको आदेश अनुरूप पुनः मतगणना गरिए आफूलाई अपूरणीय क्षति हुने मेयर न्यौपानेको दाबी छ ।
उच्च अदालत पोखराले गत जेठ १ गते व्यास नगरपालिकाको पुनःमतगणना गर्न आदेश दिएको थियो । उच्चले आगामी असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भनेको छ।
२०७९ वैशाखमा भएको स्थानिय निर्वाचनमा नगरपालिका प्रमुखका उम्मेदवार बनेका दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा रिट दिएका थिए ।
पुर्वमन्त्री गोविन्दराज जोशीका छोरा रहेका दीपकराजले निर्वाचनमा धाँधलीको आरोप लगाउँदै दिएको रिटमा पुनः मतगणनाको आदेश भएपछि कानुनी विवाद सिर्जना हुँदै आएको छ।