जग्गाको मूल्य : कागजमा १५ लाख, कारोबार ३ करोड

<p>काठमाडौं । कमेरोटार जग्गा एकीकरण आयोजनाले भक्तपुरको मध्यपुर थिमिमा विकसित घडेरी बिक्री गर्ने भएको छ । कार्यालयले बिहीबार सूचना जारी गर्दै विकसित घडेरी बिक्री गर्ने जानकारी गराएको हो । घडेरी बिक्री गर्न आयोजनाले बिहीबार गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । सबै घडेरी बढाबढ मूल्यमा बिक्री गरिने आयोजनाले जनाएको छ । घडेरी खरिद गर्न चाहनेले ३० दिनभित्र [&hellip;]</p>

काठमाडौं । कमेरोटार जग्गा एकीकरण आयोजनाले भक्तपुरको मध्यपुर थिमिमा विकसित घडेरी बिक्री गर्ने भएको छ । कार्यालयले बिहीबार सूचना जारी गर्दै विकसित घडेरी बिक्री गर्ने जानकारी गराएको हो ।

घडेरी बिक्री गर्न आयोजनाले बिहीबार गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । सबै घडेरी बढाबढ मूल्यमा बिक्री गरिने आयोजनाले जनाएको छ । घडेरी खरिद गर्न चाहनेले ३० दिनभित्र बोलपत्र पेस गरिसक्नु पर्ने सूचनामा उल्लेख छ ।  बोलपत्र फारमको शुल्क ३ हजार रुपैयाँ ताेकिएकाे छ ।

आयोजनाका अनुसार अधिकांश घडेरीमा साढे ७ मिटर चौडाइको बाटो जोडिएको छ ।  ती घडेरी प्रतिआनाको मूल्य न्यूनतम ३७ लाख रुपैयाँदेखि अधिकतम् ५५ लाख रुपैयाँसम्म तोकेको छ । प्लटको न्यूनतम मूल्य भने २ करोड १६ लाख रुपैयाँदेखि अधिकतम् ३ करोड ८ लाख रुपैयाँ ताेकेकाे छ ।

कमेरोटार जग्गा एकीकरण आयोजना सरकारी कार्यालय अन्तर्गत नै पर्छ । यो आयोजना भक्तपुर थिमि नगरपालिका तथा उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्त कार्यालय भक्तपुर अन्तर्गत पर्छ । सरकारी कार्यालयले जग्गा बिक्री गर्दा ठूलो रकमको आशयपत्र माग गरेको छ ।

यस कार्यालयले सरकारी कार्यालयको जग्गा मूल्यांकनभन्दा सयौं गुणा बढी मूल्य राखेर आशय पत्र माग गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका अनुसार मध्यपुर थिमि नगरपालिका वडा नम्बर १, २ र ३ मा प्लानिङको पक्की मोटर बाटो ७ मिटरभन्दा बढी चौडाइ भएको जग्गाको न्यूनतम मूल्यांकन प्रतिवर्गमिटर ४४ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

त्यसैगरी वडा नम्बर ४ र ५ मा प्लानिङको पक्की मोटर बाटो ७ मिटरभन्दा बढी चौडाइ भएको जग्गाको न्यूनतम मूल्यांकन प्रतिआना १५ लाख १५ हजार ४ सय रुपैयाँ तोकिएको छ । यस्तै वडा नम्बर ७ मा प्लानिङको पक्की मोटर बाटो ७ मिटरभन्दा बढी चौडाइ भएको जग्गाको न्यूनतम मूल्यांकन प्रतिआना १५ लाख १६ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

त्यसैगरी वडा नम्बर ५ का केही भाग र ६ नम्बर वडामा प्लानिङको पक्की मोटर बाटो ७ मिटरभन्दा बढी चौडाइ भएको जग्गाको न्यूनतम मूल्यांकन प्रतिआना १३ लाख ३९ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

भूमि सूधार कार्यालयका अनुसार मध्यपुर थिमि नगरपालिका भित्रको जग्गाको सरकारी मूल्यांकन अधिकतम् १५ लाख रुपैयाँ तोकिएको छ । तर, यस आयोजनाले अधिकतम् ३ करोड रुपैयाँ तोकेर नै खरिदकर्ता खोजेको हो ।

आयोजनाका अनुसार खरिद गर्न चाहेको प्लटको आफूले कबोल गरेका कूल अंकको १० प्रतिशतले हुन आउने रकम नेपाल बैंक लिमिटेड थिमि शाखामा जम्मा गरेको सक्कल बैंक भौचर संलग्न गर्नुपर्ने छ ।

प्राप्त सिलबन्दी बोलपत्रह ३१औं दिन दिउँसो २ बजे निवेदनकर्ता वा निजका अधिकार प्राप्त प्रतिनिधिको उपस्थितिमा खोलिने आयोजनाले जनाएको छ ।

उक्त समयमा सिलबन्दी बोलपत्र पेस गर्ने व्यक्ति वा निजको प्रतिनिधि उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा नपुग्ने तथा सिलबन्दी बोलपत्र खरिद गर्ने र पेस गर्ने अन्तिम दिन बिदा परे बिदापछिको कार्यालय खोलिएको दिनमा उपरोक्त बमोजिम हुने आयोजनाको भनाइ छ ।

त्यसैगरी विकसित घडेरी (प्लट) खरिद छनोट भएका व्यक्तिले बाँकी ९० प्रतिशत रकम बोलपत्र स्वीकृत भई त्यसको सूचना आयोजनाको सूचना पाटीमा टाँस भएको मितिले १५ दिनभित्र रकम जम्मा गरिसक्नुपर्ने, अन्यथा प्लट दाबी गर्न नपाइने आयोजनाले जनाएको छ ।

Share News