काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले विभागले व्यवसायीहरूलाई उद्योगी व्यवसायीलाई त्रसित नबनाउने र केही कमी कमजोरी भए समन्वय गरेर जान तयार रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको उद्योग व्यवसायी वातावरण निर्माणमा निजी क्षेत्र–सरकार संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘राजस्वको लक्ष्यमा योगदान दिने हो, भन्सारको काममा थप सहयोग गरिरहेका छौं,’ उनले भने, ‘बजारमा स्वस्थ प्रतिस्पर्धाका लागि काम गरिरहेका छौं, अस्वस्थ प्रतिस्पर्धा कम गरेर स्वस्थ व्यावसायिक वातावरण सिर्जना गर्ने हो ।’
यस्तै उनले ८ सय बढी गाडी नियन्त्रणमा लिएर छुटाएको पनि बताए ।
भन्सार जाँचपास भइसकेका गाडी पुनः जाँच हुने अभ्यासको प्रश्न उठेपछि उनले विशेष सूचनाका आधारमा भन्सार महसुल नतिरेकाको मात्रै चेकजाँच हुने गरेको बताए ।