
काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले सर्वोच्च अदालतले आगामी १३ साउनमा फैसला सुनाउने मिति तय गरेको छ।
सर्वोच्चमा भएको सुनुवाइपछि न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले फैसला सुनाउन १३ साउनको मिति तय गरेको हो ।
आइतबार दुवै पक्षको सुनुवाइ सकेर सर्वोच्चले २१ असारसम्म पक्ष विपक्षका कानुनव्यवसायीलाई बहसनोट पेस गर्न आदेश दिएको छ । जोशी विरुद्धको भ्रष्टाचार मुद्दामा गत १ जेठदेखि निरन्तर सुनुवाइ भइरहेको छ ।
जोशीविरुद्ध अख्तियारले १८ पुस, २०६० सालमा गैरकानूनी सम्पत्ति आर्जन गरेको असभयोगमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उतिबेलै उनीमाथि ३ करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो । मुद्दा सर्वोच्च अदालतमा पुगेकै ११ वर्ष बितिसकेको छ ।
विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २०६९ सालमा जोशीलाई भ्रष्टाचारी ठहर गरेको थियो । विशेषको फैसलाविरुद्ध जोशीले सर्वोच्चमा पुनरावेदन दिएका हुन् ।