
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र कुनै राजनीतिक स्वार्थ नभई सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्ने परिवर्तनकामी राजनीतिक शक्तिहरूको सामूहिक प्रयासको प्रतिफल भएको बताएका छन् ।
गणतन्त्र दिवस, २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सामूहिक प्रयास तथा सहकार्यबाट राजनीतिक व्यवस्था परिवर्तन गर्न सकिएको र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण गर्न सफल भएको बताए ।
‘गणतन्त्र कसैको लहड थिएन, न त कसैको राजनीतिक स्वार्थमा चलेको आन्दोलनको परिणाम नै । यो त विभेदपूर्ण सामाजिक संरचनालाई भत्काउँदै सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्न परिवर्तनकामी राजनीतिक शक्तिहरू एक ठाउँमा उभिएर गरिएको सामूहिक प्रयास थियो,’ प्रधानमन्त्री दाहालले भने, ‘हाम्रो सामूहिक प्रयास र सहकार्यमार्फत राजनीतिक व्यवस्था परिवर्तन गर्यौँ र एकात्मक वंशवादी सामन्ती राज्यसत्ता अन्त्य गरी संघीयता र गणतन्त्रसहितको संविधान निर्माण गर्न सफल बन्यौँ ।’
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै राजनीतिक रूपमा क्रान्तिको एउटा अध्याय पूरा भएको भए पनि जुन जग र सपनाको बलमा गणतन्त्र स्थापना भएको थियो, त्यसका सोच तथा लक्ष्य पूरा गर्ने अभिभारा भने बाँकी नै रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।
व्यवस्थामा हुने परिवर्तनले आमजनताको अवस्थामा परिवर्तन ल्याउन सकेन भने त्यसले राजनीतिक व्यवस्था परिवर्तनको अभिष्ट पूरा हुन नसक्ने उल्लेख गर्दै उहाँले गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा देखिएका अस्पष्टताको फाइदा उठाउँदै व्यवस्थालाई नै असफल पार्न कोसिस भइरहेको भन्ने आफूले सुनेको तर यस्ता प्रयास सफल नहुने बताए ।
उनले त्यस्ता गलत प्रयासलाई असफल पार्न सचेत र सामूहिक प्रयास एवं परिवर्तनका मुद्दामा राष्ट्रिय सहमति र सहकार्य आवश्यक भएको औँल्याए ।