रास्वपाले भन्यो- नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन्

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै नभएको बताएको छ । महामन्त्री डा. मुकुल ढकालले बुधबार एक विज्ञप्ति जारी गरी अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको बताएका हुन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री [&hellip;]</p>

फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै नभएको बताएको छ ।

महामन्त्री डा. मुकुल ढकालले बुधबार एक विज्ञप्ति जारी गरी अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको बताएका हुन् ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिसोध साँधेर पक्राउ गरेको आरोप लगाएपछि महामन्त्री मुकुल ढकालले जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत भएको उल्लेख गरेका छन् ।

महामन्त्री डा. ढकालद्वारा  बुधबार जारी विज्ञप्तिमा भनिएकाे छ, ‘अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन, यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ, न्यायको विधि पुगोस्, सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्नपर्छ भन्ने सन्देश जनतामा जाओस्, अन्ततः लोकतान्त्रिक कानुनी राज्यको जीत होस् ।’

नेपालको संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति आफू प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

उनले भनेका छन्, ‘धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले हिजो व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएको तथ्य हाम्रो जानकारीमा आएको छ । नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक-अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरूप कदम चाल्न नेपाल सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौँ ।’

 

Share News