काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले टीकापुरको जग्गा आफूले ५० हजार रुपैयाँमा किनेको बताएकी छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद राणाले टीकापुरको जग्गा आफूले २०५३ सालमा ५० हजार रुपैयाँमा किनेको बताएकी हुन् । आफूले ०५३ सालमा जग्गा किनेको भएपनि २०६८ सालपछि त्यहाँ जग्गा घोटाला भएको बताइन् ।
उनले पत्रकारहरुलाई टीकापुरको जग्गा आफैँ गएर हेर्न र कागजात खोलेर हेर्न पनि आग्रह समेत गरिन् । सांसद राणाले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताइन् । प्रजातन्त्रमा गृहमन्त्रीमाथि छानविन गर्न समिति बन्ने भन्दै अहिलेको शासन व्यवस्था हुकुमी शासन नभएको जानकारी दिइन् ।
‘टीकापुरको जमिन तपाईहरु आफै गएर हेर्न जानुस् । ५० हजार रुपैयाँमा किनेको हो । त्यो सबै रिपोर्ट पनि गरिसकेको छ । गृहमन्त्रीको अभिव्यक्तिलाई मैले कसरी हेर्नु ? जनताले कसरी हेरेका छन् त्यो सोध्नुहोस् न । समिति नै नबन्नु चाहीँ कहाँको कुरा हो ? यो प्रजातन्त्र हो नि । यो हुकुमी शासन हो र ? नेपाली कांग्रेसले जनताको बचाउ जहिल्यै पनि गरेर आएको छ । अहिले पनि हामी गर्ने नै छौँ । सहकारी पीडितहरु रोइरहेका छन्’, उनले भनिन् ।
उनले नेपाली कांग्रेसले जहिल्यैपनि जनताको बचाउ गर्दै आएको भन्दै आगामी दिनमा पनि जनताको बचाउ गर्ने बताइन् ।