
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार १ सय १९ रुपैयाँ राजस्व संकलन गरेको छ ।
महानगरले गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ३ करोड १८ लाख ९८ हजार २९ रुपैयाँ बढी संकलन गरेको हो । महानगरले गत आर्थिक वर्षको १० महिनामा ३६ करोड ६१ लाख ३६ हजार ९० रुपैयाँ राजस्व संकलन गरेको थियो ।
वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आर्थिक वर्षको बजेट पुसमा संशोधन गर्दै ७० करोड राजस्व संकलन गर्ने लक्ष्य भए ता पनि हालसम्म ४० करोड रुपैयाँको हाराहारीमा मात्रै राजस्व संकलन भएको जानकारी दिए ।
‘आर्थिक मन्दीका कारण वीरगञ्जमा व्यापार घटेको छ, यसको राजस्व संकलन प्रत्यक्ष असर परेको छ,’ उनले भने ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले चालु आर्थिक वर्षमा मालपोत कर ५० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा त्यो प्राप्त गर्न कठिन हुने बताए ।
‘यो वर्ष घरजग्गा कारोबारमा ठूलो मन्दी आएकाले १३ करोड ९३ लाख ६२ हजार रुपैयाँ मात्रै सम्पत्ति कर (मालपोत) कर उठेको छ,’’ उनले भने, ‘आन्तरिक राजस्व अपेक्षाकृत रूपमा संकलन नहुँदा स्रोत जुटाउन दबाब बढेको छ ।’
महानगरले २४ शीर्षककमा आन्तरिक राजस्व वापत आम्दानी गर्दै आइरहेको छ । महानगरले यस वर्ष घरबहाल कर बापत ४ करोड ९६ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छभने पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर बापत भने २ करोड ७ लाख ९२ हजार रुपैयाँ संकलन गरेको छ ।
महानगरले बहाल करतर्फ ३ करोड २६ लाख ४४ हजार तथा अन्य सेवा शुल्कबापत २ करोड ४१ लख ४३ हजार, नक्सापास दस्तुर २ करोड ९२ लाख ४ हजार रुपैयाँ उठाएको छ । गत आआर्थिक वर्षमा ५७ करोड १ लाख ७३ हजार २ सय १ रुपैयाँ राजस्व संकलन भएको थियो ।