संसदको अवेहलना गरेको भन्दै गृहमन्त्री लामिछानेलाई कारबाही गर्न माग

<p>काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदको अवहेलनामा कारबाहीको माग गर्दै नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले सभामुखलाई निवेदन दिएका छन् । नेता गुरुङले गृहमन्त्री लामिछानेविरुद्ध संसदमा अर्थहीन र आधारहीन कुरा गरी कांग्रेस सांसदहरूको मानमर्दन गर्न खोजेको बताएका छन् । लामिछानेको अभिव्यक्ति प्रतिनिधिसभा नियमावली विपरीत भएको भन्दै संसदको अवेहलनामा कारबाही गर्न गुरुङको माग [&hellip;]</p>

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदको अवहेलनामा कारबाहीको माग गर्दै नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले सभामुखलाई निवेदन दिएका छन् ।

नेता गुरुङले गृहमन्त्री लामिछानेविरुद्ध संसदमा अर्थहीन र आधारहीन कुरा गरी कांग्रेस सांसदहरूको मानमर्दन गर्न खोजेको बताएका छन् । लामिछानेको अभिव्यक्ति प्रतिनिधिसभा नियमावली विपरीत भएको भन्दै संसदको अवेहलनामा कारबाही गर्न गुरुङको माग छ ।

‘प्रतिनिधि सभा नियमावालीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकाले सोतर्फ समेत विचार गरी निजलाई संसदको अवहेलनामा कारवाही गर्न गम्भीर रूपले माग गर्दछु।’

अवहेलना निवेदनमा रातो कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सर्वोच्च अदालतले २४ असोज २०६४ मा गरेको फैसलाको प्रतिलिपि समेत संलग्न गरिएको छ ।

संसदमा लामिछानेले अनैतिक र तथ्यहीन आरोप लगाएको भन्दै गुरुङले ती आरोपलाई पुष्टि गर्नुपर्ने र नभए उनीमाथि कारबाही हुनुपर्ने भनाइ राखेका छन् ।

लामिछानेमाथि कारबाहीको माग गर्दै दिएको अवहेलना निवेदनमा प्रतिनिधि सभाको रोष्टमबाट औचित्यहीन, आधारहीन कुरा गरी नेपाली कांग्रेसका प्रतिनिधि सभाका सदस्यहरूमाथि मानमर्दन गर्न खोजेको, हुँदै नभएको कुरालाई बढाइचढाइ गरेर आम नागरिकलाई भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथि धावा बोलेको, अदालतको निर्णयको बर्खिलाप गरी अदालतको समेत अवहेलना गरेको, अदालतबाट सफाइ पाइसकेको रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी आम नागरिकबीच भ्रम र्सजना गर्न खोजेको, आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति दिएको उल्लेख छ ।

Share News