
काठमाडौं । सहकारी पीडितले बिहीबार ललितपुरको कुपन्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी कार्यालयमा आगो लगाइदिएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अहिले भने सहकारीमा लागेको आगो नियन्त्रणमा आइसकेको छ।
राष्ट्रिय सहकारी बैंक अध्यक्षसमेत रहेका केबी उप्रेती अध्यक्ष रहेको उक्त सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नगरेको बचतकर्ताले बताएका छन् ।
चौथो तलामा रहेको सहकारी कार्यालय बन्द अवस्थामा रहेको जनाइएको छ । सहकारी विभागले हाल उक्त संस्थालाई समस्याग्रस्त घोषणा गर्न बचतकर्ताबाट उजुरी संकलन गरिरहेको छ । सहकारीमा आगलागी भएको विषयमा अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरले जनाएको छ।