
काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ ।
राष्ट्रिय योजना आयोगको १६औं पञ्चवर्षीय योजनामा आर्थिक वर्ष २०८५/०८६ सम्म नेपालीको प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको हो ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले १६औं योजना (२०८१/८२/२०८५/८६) स्वीकृत गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार हाल नेपालीको प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर छ ।
यस्तै गरिबीको रेखामुनि रहेको जनसंख्या (निरपेक्ष गरिबी) २०.३ प्रतिशत रहेकामा १२ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ ।
सरकारले उपभोक्ता मुद्रास्फीति ७.७ प्रतिशत रहेकामा त्यसलाई ५ प्रतिशतमा झार्ने, मानव विकास सूचकांक हाल ०.६०१ रहेकामा ०.६५० पुर्याउने, मानव सम्पत्ति सूचकांक ७६.३ रहेकामा त्यसलाई ७८ पुर्याउने, आर्थिक तथा वातावरणीय जोखिम सूचकांक २९.७ रहेकामा २४ मा सीमित गर्ने, अपेक्षित आयु (जन्म हुँदाको) हाल ७१.३ वर्ष रहेकामा ७३ वर्षमा विस्तार गर्नेजस्ता लक्ष्य राखेको छ ।