
काठमाडौं । संसदको अवरोध हटाउन प्रतिपक्षी दल नेपाली कांग्रेससँग तत्काल सहमतिको प्रयास थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सभामुख देवराज घिमिरेले सुझाव दिएका छन् ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख घिमिरे र प्रधानमन्त्री दाहालवीच प्रमखु प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा अवरोध जारी राखेको विषमयमा छलफल भएको थियो । त्यसक्रममा सभामुखले प्रतिपक्षसँग तत्काल सम्वाद थालेर अवरोध हटाउने प्रयास गर्न प्रधानमन्त्रीलाई सल्लाह दिएका हुन्।
प्रतिपक्षको निरन्तरको अवरोधले संसदबाट विधेयकहरू पारित गर्न नसकिएको, नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढ्न असम्भव देखिएको जस्ता विषयमा छलफल भएको थियो ।
मंगलबार राष्ट्रिय सभाबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित गर्न नसकिएको स्मरण गराउँदै सभामुखले भोलि बिहीबार बस्ने प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने वातावरण बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए।
मंगलबारको संसद बैठकमा कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिए पनि त्यसपछिको बैठकमा सहकारी प्रकणमा संसदीय समिति गठनको अडान कायम राख्दै अवरोध गरेको थियो ।