पहाडका टाकुरा पर्यटकीय गन्तव्य, हलिउड र बलिउड फिल्मका निर्मातालाई आकर्षित गरिने

<p>काठमाडौं । सरकारले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमले पर्यटन क्षेत्रको प्राथमिकतालाई निरन्तरता दिएको छ ।  पर्यटन क्षेत्रलाई मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । सरकारले पनि पर्यटनलाई सोही अनुसार व्यवहार गर्दै आएको दाबी गर्ने गर्छ । तर, निजी क्षेत्रले भने पर्यटनलाई सरकारबाट सोचेजति सहयोग नभएको गुनासो गर्दै आएको छ । यिनै [&hellip;]</p>

काठमाडौं । सरकारले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमले पर्यटन क्षेत्रको प्राथमिकतालाई निरन्तरता दिएको छ ।  पर्यटन क्षेत्रलाई मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । सरकारले पनि पर्यटनलाई सोही अनुसार व्यवहार गर्दै आएको दाबी गर्ने गर्छ । तर, निजी क्षेत्रले भने पर्यटनलाई सरकारबाट सोचेजति सहयोग नभएको गुनासो गर्दै आएको छ ।

यिनै रस्साकस्सीबीच मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । नीति तथा कार्यक्रमले अन्तर्राष्ट्रिय विमानस्थहरू सञ्चालनका लागि विशेष प्रोत्साहन प्याकेज, हवाई नीति तथा कानुनमा समसामयिक सुधार, नेपाली वायुसेवा कम्पनीहरूको अन्तर्राष्ट्रिय बजार विस्तार, आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिदेखि विविध पर्टन प्रवर्द्धनका काम गर्ने विषय समेटेको छ ।

आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पहाडी भूभागका स्थानीय स्रोत साधनको प्रयोग तथा रोजगारी सिर्जना हुने गरी टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने बताइएको छ ।

पर्यटकीय गन्तव्य पहिचान र प्रवर्द्धन गरिनेमा जोड दिइने छ । ‘ग्रेट हिमालय ट्रेल’ लगायत पदमार्ग पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने, हलिउड तथा बलिउडका अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायांकनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवर्द्धन गरिने छ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित बनाइने र पर्यटक उद्धार केन्द्रसहित पर्यटकीय पूर्वाधार निर्माण तथा विकास गरिने पनि उल्लेख छ ।

हवाई नीति र कानुनमा सामयिक सुधार गरिने विषय पनि नीति तथा कार्यक्रमले समेटेको छ ।

हवाई सेवालाई थप सुरक्षित, सुलभ र पहुँचयोग्य बनाइने छ । आन्तरिक र अन्तर्राष्‍ट्रिय विमानस्थल स्तरोन्‍नति गरी पूर्ण क्षमतामा सञ्‍चालन गरिनेमा जोड दिइने छ ।

पोखरा र भैरहवा अन्तर्राष्‍ट्रिय विमानस्थल सञ्‍चालनका लागि विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरिने र नेपाली वायुसेवा कम्पनीहरूको अन्तर्राष्‍ट्रिय बजार विस्तार गरिने उल्लेख छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले राष्‍ट्रिय संस्कृति नीति कार्यान्वयनमा ल्याइने बताएका छन् । राष्‍ट्रिय महत्त्वका अभिलेख आधुनिक प्रविधिबाट संरक्षण गरिने उनले बताए ।

मौलिक, ऐतिहासिक र सांस्कृतिक सम्पदा संरक्षण र विकास गरिने, जानकी मन्दिर लगायतका महत्त्वपूर्ण सम्पदालाई विश्‍व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने उनले जानकारी गराए ।

‘सांस्कृतिक तथा धार्मिक स्थलहरूको पर्यटकीय विकासका लागि संस्थागत व्यवस्था गरिने छ, बुद्ध परिपथ, शिव परिपथ, रामायण परिपथ, किराँत सांस्कृतिक परिपथको मार्ग निर्धारण गरी पर्यटन प्रवर्द्धन गरिने छ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्‍टाहरूको प्रतिमा र सप्‍तधामसहितको भानु साहित्य उद्यान निर्माण कार्यलाई तीव्रता दिइनेमा जोड दिइएको छ ।

समाज रूपान्तरणका लागि उल्लेखनीय योगदान गर्ने व्यक्ति र आन्दोलनसँग सम्बन्धित ऐतिहासिक चलचित्र, गीत, सङ्‍गीत, अनुसन्धान तथा स्वदेशी चलचित्रको प्रवर्द्धन गर्न ‘परिवर्तनका लागि कला र साहित्य कार्यक्रम’ सञ्‍चालन गरिने पनि नीति तथा कार्यक्रममा भनिएको छ ।

Share News