काठमाडौं । आगामी आर्थिक वर्षभित्र कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी रहेका क्षेत्रमा विद्युतिकरण गरिने बताइएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतिकरण गरिने जानकारी गराएका हुन् । उनले राष्ट्रिय विद्युत प्रणालीमा नजोडिएका र विद्युत पहुँच नपुगेका क्षेत्रमा लघु तथा साना जलविद्युत सौर्य एवं वायु ऊर्जा प्रविधिमार्फत विद्युतिकरण गरिने बताए ।
विद्युत वितरण सबस्टेशनहरुलाई स्वचालित बनाइने र स्थानीय तह समेतको समन्वयमा स्मार्ट मिटर वितरण गरिने पनि सरकारको नीति तथा कार्यक्रम रहेको उनले उल्लेख गरे । बुढीगण्डकी जलविद्युत आयोजना र नलसिङगाड जलाशययुक्त आयोजनाको निर्माण कार्य अगाडी बढाइने पनि भनिएको छ । त्यस्तै, दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माणपूर्वका कार्य सम्पन्न गरिने पनि उल्लेख गरिएको छ ।
नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने – ‘आगामी आर्थिक वर्ष भित्र राष्ट्रिय प्रणालीको कुल विद्युत जडित क्षमता ४ हजार ५०० मेघावाट र प्रतिव्यक्ति विद्युत खपत ४५० किलोवाट घण्टा पुर्याइनेछ । बुढीगण्डकी जलविद्युत आयोजना र नलसिङगाड जलाशययुक्त आयोजनाको निर्माण कार्य अगाडी बढाइने छ । दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माणपूर्वका कार्य सम्पन्न गरिनेछ । आगामी आर्थिक वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतिकरण गरिनेछ । विद्युत वितरण सबस्टेशनहरुलाई स्वचालित बनाइनेछ । स्थानीय तह समेतको समन्वयमा स्मार्ट मिटर वितरण गरिनेछ ।’
हेटौँडा, ढल्केबर, इनरुवा प्रशारण लाइनको निर्माण सम्पन्न गरिने पनि जनाइएको छ ।