काठमाडौं, २१ पुस । सरकारले २ अर्ब ६६ करोड रुपैयाँ खर्चेर स्याटेलाइट प्रविधिमा आधारित नाप नक्साका पूर्वाधार बिन्दु राख्ने निर्माण गर्ने भएको छ । अन्तरिक्षमा भएका स्याटेलाइटले पठाउने सूचना चौबीसै घण्टा प्राप्त गर्न सरकारले पूवाधार तयार पार्न लागेको हो । नाप नक्साको तथ्याङ्क वैज्ञानिक बनाउन देशैभर स्याटेलाइट प्रविधिमा आधारित नाप नक्साका पूर्वाधार बिन्दु निर्माण गर्न लागिएको हो ।
देशैभरी १ सय ५० पूर्वाधार बिन्दु (कण्टिन्यू अब्जर्भेशन रेफरेन्स स्टेशन) स्थापना गर्न लागिएको नापी विभागका महानिर्देशक कृष्णराज बीसीले जानकारी दिए । एक बिन्दुबाट अर्का बिन्दुसम्मको दूरी ५० किमी नबढ्ने गरी निर्माण गर्ने योजना विभागले बनाएको छ । विभागले त्यस्ता बिन्दु स्थापना गर्ने प्रतिवेदनसहितको प्रस्ताव भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई बुझाइसकेको छ । हाल चौबीसै घण्टा त्यस्तो सूचना प्राप्त गर्न नापी विभागले स्थापना गरेको एकमात्र बिन्दु काठमाडौंको नगरकोटमा छ ।
विभागले पहिलो चरणमा भूकम्पबाट प्रभावित ३१ जिल्लामा आधुनिक प्रविधिबाट इमेजमा आधारित नक्सा तयार गर्ने प्रस्ताव समेत तयार पारेको छ । उक्त स्थानमा आधुनिक प्रविधिबाट इमेजमा आधारित नक्सा तयार पार्नको लागि कुल लागत २ अर्ब ४४ करोड रुपैयाँ लाग्छ । दुवै प्रस्ताव मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पठाएको र प्राधिकरणको ‘विपद्पछिको पुनर्निर्माण खाका’ (पीडीआरएफ)मा दुई परियोजना समावेश भएको महानिर्देशक बीसीले बताए ।
दुवै परियोजना निर्माणले भोलिको सङ्घीय संरचनामा जाँदा पनि सिमाना निधार्रण गर्न समेत सजिलो हुने बीसीले जानकारी दिए । ‘इमेजमा आधारित नक्सा प्रणालीले २०२१ सालको पुरानो नापनक्सा प्रणाली आधुनिक बनाउनेछ,’ उनले भने, ‘यस प्रविधिले जमीनको इञ्च–इञ्च स्पष्ट रूपमा छुट्ट्याइदिन्छ ।’ बजेट आउने निश्चित भए विभागले ३ वर्षभित्र बिन्दु निर्माण र २ वर्षमा नक्साङ्कन कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
२०७२ वैशाखको भूकम्पले विद्यमान नापनक्साको बिन्दुलाई असर पुर्याएको छ । भूकम्पले जमीन हल्लिएपछि काठमाडौं उपत्यकाको जमीन १ मिटर दक्षिणतर्फ सरेको र १ दशमलव ५ मिटर उचाइ बढेको विभागको तथ्याङक छ । यस्तो स्थिति फरक परेपछि त्यसबाट पहिले बनेका नक्साङ्कनमा शुद्धताको कमी हुन्छ । त्यसैले, यस्ता भौगोलिक सूचनाको पूर्वाधारको बिन्दु निर्माण गर्न आवश्यक रहेको उनले बताए । यसले यथार्थ र सत्य तथ्याङ्कमा आधारित नक्सा तयार पार्न मद्दत गर्छ । कुनै पनि स्थानको स्थिति (अक्षांश, देशान्तर र उचाइ)का बारेमा स्पष्ट जानकारी हासिल गर्न त्यस्ता बिन्दु स्थापना गर्न लागिएको विभागको भनाइ छ ।