काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट कटौती नभएको बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै संसदले पारित गरेको बजेट अर्थ मन्त्रालयले कटौती नगरेको बताएका हुन् ।
‘सकेजतिको खर्च गर्ने हो, सकेजति राजस्व उठाउने हो, बजेट कटौती गरिएको छैन,’ अर्थमन्त्री महतले भने ।
अर्थमन्त्री महतले अहिलेसम्म उठेको राजस्वको आधारमा उठ्न सक्ने राजस्व र खर्च हुन सक्ने बजेटको आंंकलन मात्रै गरिएको उनले बताए ।
सरकारले चालु वर्षमा १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट विनियोजन गरेकोमा मध्यावधि समीक्षामा १५ खर्ब ३० अर्ब रूपैयाँको बजेट खर्च हुने अनुमान गरेको छ । बजेटको मध्यावधि मूल्यांकन गर्दै अर्थ मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटमा सवा दुई खर्ब कम बजेट खर्च हुने आंंकलन गरेको थियो ।