काठमाडौं । देशमा रोजगारी नपाएर विदेश जाने नेपाली कामदारहरू वैदेशिक रोजगार व्यवसायी र तालिम प्रदायक संस्थाहरूबाट ठूलो मात्रामा ठगीमा पर्ने गरेका छन् । देशमा वर्षेनी खरबाैं भित्र्याउने कामदारहरू भिसा प्रकृयादेखि तालिमका नाममा ठूलो रकममा ठगीमा पर्दै आएको खुलेकाे छ । तर, यस विषयमा सरकार मुखदर्शक बनेकाे छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले फ्री टिकट फ्री भिसामा विदेश जाने कामदारहरुले लाखौं रुपैयाँ रोजगार व्यवसायीलाई बुझाउने गरेको र अभिमूखिकरण तालिम समेत नलिई पैसा दिएर प्रमाणपत्र लिने अवस्था रहेको बताए ।
बिहीबार बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव भण्डारीले वैदेशिक रोजगारीमा जाने कामदारमाथि भएको लुट र त्यसले सिर्जना गरेको समस्याका बारेमा बताएका थिए ।
वैदेशिक रोजगामारीमा जाने मजदुरहरूले पूर्व अभिमूखिकरण तालिम लिनुपर्ने व्यवस्था छ । अभिमूखिकरण तालिम कार्यविधि २०७६ अनुसार तालिम प्रदायक संस्थाले ७ सय रुपैयाँ लिएर वैदेशिक रोजगारमा जाने कामदारलाई २ दिनको तालिम दिनुपर्ने हुन्छ । तर, म्यानपावर व्यवसायी र तालिम प्रदायक संस्थाले पैसा मिलेमताेमा खाएर कामदारलाई तालिम नै नदिई प्रमाणपत्र दिने गर्दै आएका छन् ।
जसले गर्दा कामदार ठगिने मात्रै नभएर रोजगारीको लागि विदेश जानुपूर्व जान्नुपर्ने आधारभूत ज्ञानबाट समेत बञ्चित हुनपुग्दा उनीहरूको भविष्य नै जोखिममा पर्ने गरेको छ ।
मन्त्रालयका सचिव भण्डारीको समेत सहभागितामा पछिल्लो समयमा भएको अभिमूखिकरण तालिम अनुगमनमा १५ वटा संस्थाहरूले म्यानपावर व्यवसायीसँग मिलेमतो गरेर प्रमाणपत्र दिएको भेटिएको थियो । ती संस्थाहरुलाई कारबाहीको प्रकृया अगाडि बढाइएको उनले समितिको बैठकमा बताए ।
‘अघिल्लो महिनामा १५ वटा प्रशिक्षणको अनुगमन गरेँ, तालिममा कामदार सहभागी छैनन्’, उनले भने, ‘४ सय म्यानपावरले लिने र ३ सय अभिमूखिकरण दिने संस्थाले लिएर प्रमाणपत्र विभागमा पेश गर्ने अवस्था छ ।’
उनका अनुसार वैदेशिक राेजगारीकाे शिलशिलामा जाने धेरै नेपालीहरू सूचनाको कमीकाे आधारमा दुःख पाउने गरेका छन् । पछिल्लो समय साउदी अरबमा काम गर्न गएका केही नेपाली कामदारले एबीसीडी अक्षर नै नजानेका कारण कुटाई खाएर कामबाट निकालिएको उनले बताए ।
वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो आर्थिक वर्षमा मात्रै नेपालबाट औपचारिक रूपमा श्रम स्वीकृत लिएर ७ लाख १३ हजार ३ सय २७ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । जसमध्ये जिटुजी प्रकृयामा जम्मा २१ हजार ४ सय ६ जना मात्रै गएका थिए । बाँकी व्यक्तिगत र संस्थागत व्यवसायीमार्फत गएका थिए । विभागको तथ्यांकअनुसार अघिल्लो वर्ष विदेश गएका मध्ये ४ लाख ९४ हजार २ सय २४ जना नयाँ श्रम स्वीकृति लिएर गएका हुन, जसले अभिमुखिकरण तालिम लिएर जानुपर्ने हुन्छ ।
अहिले नेपालमा ७ सय बढी म्यानपावर व्यवसाय सञ्चालनमा रहेको मन्त्रालयको तथ्यांक छ । मन्त्रालय तथा विभागको तर्फबाट अधिकांश व्यवसाय तथा तालिम प्रदायक संस्थामा अनुगमन हुने गरेको छैन । जसले गर्दा अघिल्लो आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीमा गएका ४ लाख बढी कामदार अभिमूखिकरण तालिमको नाममा ठगिएको हुनसक्ने मन्त्रालयको पछिल्लो अनुगमनमा देखिएको नतिजाको प्रवृत्तिले देखाएको छ । जसमार्फत म्यानपावर व्यवसायी तथा तालिम प्रदायकहरूले २८ करोड बढी रकम कामदारमार्फत् बिना तालिम असुल गरेको आशंका गर्न सकिन्छ ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार आर्थिक वर्ष २०६५ को कात्तिकदेखि चालु आव २०८०/८१ को मंसिर २६ गतेसम्म १२ हजार ७ सय ३० जना कामदारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ । वैदेशिक रोजगारमा गएका मध्ये अधिकांशले सम्बन्धित देशको कानुन, काम लगायतका आधारभूत विषयमा जानकारीको अभावमा ज्यान गुमाएका छन् । म्यानपावर र तालिम सेवा प्रदायकको मिलेमतोमा सरकारपक्षले नजरअन्दाज गर्दा अझैपनि लाखौं कामदारहरुरूको भविष्य जोखिममा छ ।
फ्री भिसा फ्री टिकटमा लाखौं असुली
तत्कालीन श्रममन्त्री टेकबहादुर गुरुङले केही देशमा फ्री टिकट फ्री भिसा लागू भएको घोषणा गरेका थिए । मलेसिया, साउदी अरब, कतार, युएई, ओमान, बहराइन र कुवेत जाने कामदारले म्यानपार व्यवसायीलाई १० हजार रुपैयाँभन्दा धेरै सेवा शुल्क बुझाउन पर्दैन । तर, अधिकांश म्यानपावर व्यवासायीले कामदारसँग एक लाख रुपैयाँभन्दा धरै बुझ्ने गरेको मन्त्रालयका सचिव भण्डारीले बताएका छन् ।
उनले व्यवसायीहरूलाई कामदारसँग लिने गरेको अवैध रकमको श्रोत देखाउन समेत समस्या भएको बताए । ‘नगदमा लिन्छन्, जसको प्रमाण भेटिँदैन’, सचिव भण्डारीले संसदीय समितिको बैठकमा भने ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतसिँह भण्डारीले शून्य लागतमा वैदेशिक सेवाको व्यवस्था हुन नसक्ने बताएका छन् । उनले कुनै न कुनै पक्षले यसको शुल्क बेहोर्नुपर्ने भन्दै आफू शून्य लागतको पक्षमा नरहेको बताए ।