६ महिनामा २७ प्रतिशत घट्यो बैंकको ब्याजदर, बैंकरको भद्र सहमतिको प्रभाव

<p>काठमाडौं । गत असारमा बैंकरहरूले एउटा निर्णय गरे, ‘ब्याजदर निर्धारणमा भइरहेको भद्र सहमति खारेज गर्ने ।’ वाणिज्य बैंकहरूबीच ब्याजदरमा हुँदै आएको भद्र सहमति साउनदेखि खारेज भयो । साउनदेखि बैंकले तरलताको स्थिति हेरेर आफैं ब्याजदर निर्धारण गर्न थाले । भद्र सहमति टुटेसँगै कुन बैंकले कति ब्याजदर निर्धारण गर्ने भन्ने निर्णय  बैंकहरूकै हातमा पुग्यो । त्यसअघिसम्म बैंकरहरूबीच सहमति [&hellip;]</p>

काठमाडौं । गत असारमा बैंकरहरूले एउटा निर्णय गरे, ‘ब्याजदर निर्धारणमा भइरहेको भद्र सहमति खारेज गर्ने ।’ वाणिज्य बैंकहरूबीच ब्याजदरमा हुँदै आएको भद्र सहमति साउनदेखि खारेज भयो । साउनदेखि बैंकले तरलताको स्थिति हेरेर आफैं ब्याजदर निर्धारण गर्न थाले ।

भद्र सहमति टुटेसँगै कुन बैंकले कति ब्याजदर निर्धारण गर्ने भन्ने निर्णय  बैंकहरूकै हातमा पुग्यो । त्यसअघिसम्म बैंकरहरूबीच सहमति भएर ब्याजदर निर्धारण हुन्थ्याे । भद्र सहमति गर्दा बैंकरहरू मिलेर ब्याज बढाएकाे  आरोप पटक-पटक सुन्नु परेपछि बैंकहरू यस्ताे निर्णय गर्न बाध्य भएका हुन् ।

बैंकरहरूबीच भद्र सहमति टुटेपछि भने ब्याजदर घटेको छ । भद्र सहमति तोडेको ६ महिनामा बैंकहरूको ब्याजदर २७ प्रतिशतसम्म घटेको तथ्यांकले देखाउँछ । ६ महिना अघि बैंकहरूको व्यक्तिगतको निक्षपतर्फको ब्याजदर औसत  १०.०४ प्रतिशत र संस्थागतको ८ प्रतिशत थियो । तर, सहमति टुटेपछि भने ब्याजदर घटेर व्यक्तिगतको औसत ८.९६ प्रतिशत र संस्थागतको ६.८५ प्रशितमा झरेको छ ।

६ महिनाको तुलना गर्दा नेपाल बैंकले सबैभन्दा धेरै ब्याज घटाएको छ । बैंकको व्यक्तिगततर्फ २२.२१ प्रतिशत र संस्थागततर्फ २७.१५ प्रतिशत ब्याजदर घटाएको हो । यस्तै, एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको करिब २५ प्रतिशत ब्याजदर घटाएको तथ्याङ्कले देखाएको छ । तर, यस अवधिमा प्राइम कमर्सियल बैंकको ब्याजदर भने बढेको देखिन्छ । बैंकको ०.१० प्रतिशत ब्याजदर बढाएको देखिन्छ ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता उच्च हुँदै गएपछि ब्याजदर पनि स्वतः घट्न थालेको हो । साथै, बैंकहरूमा निक्षेप थपिने क्रम जारी छ । सरकारले पनि बैंकको ब्याजदर घटाउन र कर्जा लगानी बढाउन प्रयास गरिरहेको छ ।

नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहाल बैंकहरूसँग प्रयाप्त तरलता भएपछि ब्याजदर घट्न पुगेको बताउँछन् । बैंकहरू जहिले पनि प्रतिस्पर्धा गर्न चाहने भएकाले भद्र सहमतिको पक्षमा नरहेको उनको भनाइ छ ।

‘साउनदेखि भद्र सहमति नगर्ने निर्णय भयो । तर, साउन भदौमा ब्याजदर बढाए, कतिपय बैंकले घटाए । तर, पछिल्लो तीन महिनादेखि निरन्तर घटिरहेको छ,’ उनले भने, ‘बैंकसँग प्रशस्त पैसा भएपछि ब्याजदर घटेको हो, बैंकहरूलाई भद्र सहमति गर्ने कहिले पनि इच्छा थिएन, बैंकहरू सधैं प्रतिस्पर्धाको पक्षमा छन् ।’

ब्याजदर उच्च भयो भने उद्योग व्यवसायमा असर गर्ने भएकाले त्यसैले नियन्त्रण गर्न भद्र सहमति गर्न भनेर राष्ट्र बैंकबाट निर्देशन आउने भएकाले भद्र सहमति हुने गरेको थियो । तर, बैंकहरू खुला छाडेर प्रतिस्पर्धा गर्न चाहने उनले बताए ।

बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोईरालाले मौद्रिक नीतिको समीक्षामा नीतिगत दर घटाउँदा निक्षेपको ब्यादर घटाउनुपर्ने बैंकहरुलाई दबाब सिर्जना भएको बताउँदै कर्जाको ब्याजदर पनि घट्दै जाने बताए । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले पनि बैंकको ब्याजदर थप घट्न मद्दत गरेको उनको भनाइ छ ।

‘मौद्रिक नीतिमार्फत नीतिगत दर घटाउँदा निक्षेपको ब्याजदर घटाउन दबाब परेको छ, त्यसले कर्जाको ब्याजदर पनि घट्दै जान्छ, अब ऋणीलाई पनि सहज हुन्छ,’ उनले भने, ‘बैंकहरूले राष्ट्र बैंकले तोकेको दरमा ब्याजदर घटाउँदै लैजान्छन्, बैंकहरुले हेरक महिनामा ब्याजदर परिवर्तन गर्न पाउने नयाँ नियमले सहज गराएको छ, यसले बेस रेट घट्छ, माघमा बैंकहरुले ब्याजदर परिर्वतन गर्दा कर्जाको ब्याजदर घट्ने देखिन्छ ।’

Share News