काठमाडौं, ३ पुस । राजनीतिक स्थिरतासँगै देशमा लगानी पनि विस्तार हुन थालेको छ । चालू आर्थिक २०७३/७४ को ५ महिनामा ८६ अर्ब ५७ करोड रुपैयाँको लगानी प्रतिवद्धता भएको छ । सो अवधिमा भएको लगानी अघिल्लो आव २०७२/७३ को समीक्षा तुलनामा १४ अर्ब ५२ करोड रुपैयाँले बढी हो । अघिल्लो आवको सो अवधिमा ७२ अर्ब ५ करोड रुपैयाँ लगानी भएको थियो ।
देशमा राजनीतिक स्थिरतासँगै लगानीका विभिन्न क्षेत्र पूर्वाधार निर्माण, उत्पादन र उत्पादकत्व बढाउन तथा लगानी भित्र्याउने लक्ष्य राज्यले लिएकोे र लगानीकताहरुलाई प्रोत्साहन गर्न विभिन्न स्कीमहरु ल्याएकोले लगानी बढेको उद्योग मन्त्रालयले बताएको छ । उद्योग दर्तादेखि खारेजी प्रक्रियामा समेत सहज बनाउँदै लगेका कारण लगानीमा वृद्धि हुँदै गएको उद्योग मन्त्रालयकी प्रवक्ता यमकुमारी खतिवडाले बताइन् । ‘अब औद्योगिक ऐन पनि संशोधन भएको छ भने सेज कानुन पनि आएको छ,’ उनले भनिन् ‘यसले उद्योगीहरुमा अझ उत्साह थपेकोले आउँदा दिनमा अझै लगानी बढ्नेछ ।’
अघिल्लो आवमा भूकम्प र नाकाबन्दी तथा औद्योगिक ऐन पनि परिमार्जनको अवस्थामा भएकोले पर्ख र हेरको अवस्थामा उद्योगीहरु त्यतिकै लगानी गर्न चाम्रिएका थिए । चालू आवमा उद्योगमैत्री वातावरण सिर्जना हुँदै गएको, उद्योगबाट प्रशस्तै फाइदा दिन सकिने सम्भावना देखिएपछि लगानी बढेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए । ‘अझ सरकारले उद्योग स्थापनाको लागि पूर्वाधारको तयारी र लगानीको सुरक्षा प्रत्याभुत गरिदिएमा लगानी अझै बढ्छ,’ उनले भने ।
उद्योग विभागको तथ्याङ्क हेर्दा लगानीकर्ताहरुले लगानीको ट्रेनलाई परिवर्तन गरेका छन् । समीक्षा अवधिमा अघिल्लो वर्ष उत्पादनमूलक उद्योगमा लगानी बढी भएपनि चालू आवमा ऊर्जामूलक उद्योगमा बढी लगानी भएको देखिएको छ । ५ महिनाको सो अवधिमा ५२ अर्ब २० करोड रुपैयाँ ऊर्जामूलक उद्योगमा लगानी भएको छ । लगानीकर्ताहरुले दोस्रो लगानीको क्षेत्र उत्पादनमूलक उद्योगलाई लिएका छन् । साउनदेखि मंसिरसम्मको सो अवधिमा उत्पादनमूलकमा सेवा उद्योगमा १४ अर्ब ९९ लाख रुपैयाँ लगानी भएको छ भने सेवा उद्योगमा १० अर्ब रुपैयाँ लगानी भएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । चालू आवको ५ महिनामा २ सय ३८ वटा उद्योगहरु उद्योग विभागमा दर्ता भएका छन् ।
समीक्षा अवधिमा ५ अर्ब ४३ करोड पर्यटनमूलक उद्योगमा लगानी प्रतिवद्धता भएको छ भने कृषि तथा वनजन्य उद्योगमा २ अर्ब २६ करोड निर्माण उद्योगमा १ अर्ब र खनिज उद्योगमा ७ करोड १७ लाख लगानी प्रतिवद्धता भएको छ । चालू आवका लगानी प्रतिवद्धता भएका उद्योगहरु सञ्चालनमा आए ७ हजार जनशक्तिलाई रोजगारी सिर्जना हुने देखिएको छ ।
अघिल्लो वर्ष सबैभन्दा बढी उत्पादनमूलक उद्योगमा कुल लगानीको आधाभन्दा बढी लगानी भएको छ । समीक्षा अवधिमा उत्पादनमूलक उद्योगमा मात्रै ४३ अर्ब ८९ करोड रुपैयाँ लगानी भएको छ । लगानी प्रतिवद्धताको दोस्रो स्थान ऊर्जामूलक उद्योगले लिएको छ । देशमा नयाँ नयाँ जल विद्युत आयोजना विस्तार हुँदै जाँदा ऊर्जा क्षेत्रमा लगानी बढेको हो । पर्यटन र सेवामूलक उद्योगमा पनि करिब साढे ५ अर्ब लागनी भएको छ भने अन्य उद्योगको तुलनामा कृषि तथा वनजन्य उद्योग र निर्माण उद्योगमा भएको लगानी नगन्ने छ । अघिल्लो आवमा भएको उद्योगहरुमा ८ हजार ३ सय ४३ जनाले रोजगारी पाउने भएका छन् ।