काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन भएको बताएका छन् ।
सोमबार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री दाहालले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइनको रुपमा भएको आफूले अनुमान गरेको बताएका हुन् । उनले आफूले सम्बन्धित निकायसँग घटनाबारे ब्रिफिङ लिँदा सामान्य नलागेको बताए । उनले सो घटना बाहिर देखिएजस्तो मात्रै नभएको बताए । घटनाको अन्त्यमा अरु नै केही कुरा भएको उनको भनाई छ । उनले मृतकका परिवारलाई रोजगारी दिने र सहिद घोषणा गर्ने कुरा राजनीतिक तहमा छलफल भइरहेको पनि बताए । उनले जनतालाई निराशा बाँडिएको भन्दै देशमा अध्याँरो बाहेक केही नदेखाउनेहरु राष्ट्रवादी हुन नसक्ने बताए ।
‘अस्तिको घटनाको कुरा भन्ने हो भनेपनि यस्तो त हामी कसैले पूर्वानुमान गर्न सक्ने खालको थिएन । म त्यो दिन पूर्व निर्धारित कार्यक्रममा दोलखामा थिएँ । आउँदा आउँदा नै मैले थाहा पाएँ । पाएपछि अविलम्ब तुरुन्तै अर्को दिन बिहान घटनाक्रमको ब्रिफिङ लिइयो । म अहिले सबै भन्न चाहन्न । केही चिज गम्भिर लागेको छ । सामान्य छैन यो । त्यो दुईजना युवाहरुको जस्तो परिवेशमा, जसरी हत्या भएको छ । ईपिएसमा जे-जस्ता गतिविधि भएका छन् । गाडी जलाउने जस्तो-जस्तो गतिविधि भएको छ । यो थिङ्स आर नट ह्वाट दे सिम् भनेजस्तो छ । चिज त्यस्तो छैन जस्तो देखिएको छ । त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु,’ उनले भने ।
थप बोल्दै उनले भने- ‘यो कहीँ लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन कतै त छैन भन्ने मेरो अहिले कुनै प्रुफ होइन । त्यसैकारण मैले तुरुन्त नै त्योसँग सम्बन्धितलाई निलम्वन गर्ने र उच्चस्तरीय छानविन आयोग बनाउनुपर्छ यसलाई । सामान्य छानवीन समितिले मात्रै पुग्दैन भन्ने निष्कर्ष निकालेर मृतकका परिवारलाई समेत बालुवाटार बोलाएर गम्भीर ढंगले समीक्षा गरिएको छ । आज बिहान मात्रै क्याबिनेटबाट हामीले सरकारले गर्नुपर्ने र गर्न सक्ने जति काम तुरुन्तै गरिएको छ । परिवारलाई रोजगारी दिने लगायत सहिद घोषणाका कुरा छन् त्यो हामी राजनीतिक तहमा छलफल गर्दैछौं ।’
प्रधानमन्त्री दाहालले सरकारले गरेका राम्रा कामहरुको प्रशंसा गर्न नहिच्किचाउन सत्तारुढ दल नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरुलाई अपील गरे । उनले तीन प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुका बीचमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सहमती भएको पनि बताएका छन् । नेपालका राजनीतिक दलका समकालिन नेताहरु कुनै न कुनै रुपमा विपी कोईरालाकै स्कुलिङबाट दीक्षित भएका बताउँदै उनले बीपी कोइरालालाई नेपाली राजनीतिको मुर्धन्य व्यक्तित्वको रुपमा चित्रण पनि गरे ।