मनाइयो २९औं महानगर दिवस, डा. सन्दुक रुइतदेखि अभिनेत्री कोइरालासम्म सम्मानित

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले २९औं महानगर दिवस मनाएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै महानगरले सैनिक मञ्च, टुँडिखेलमा उक्त दिवस मनाएको हो । सो अवसरमा महानगरले विभिन्न सांस्कृतिक कार्यक्रम साथै उत्कृष्ट योगदानकर्ताहरूलाई सम्मान गरेको छ । कार्यक्रममा विभिन्न संघ संस्थाहरुले आफ्नो सांस्कृतिक प्रदर्शनी पनि गरेका थिए । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरले [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले २९औं महानगर दिवस मनाएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै महानगरले सैनिक मञ्च, टुँडिखेलमा उक्त दिवस मनाएको हो ।

सो अवसरमा महानगरले विभिन्न सांस्कृतिक कार्यक्रम साथै उत्कृष्ट योगदानकर्ताहरूलाई सम्मान गरेको छ । कार्यक्रममा विभिन्न संघ संस्थाहरुले आफ्नो सांस्कृतिक प्रदर्शनी पनि गरेका थिए ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरले महानगर बासीको हक र हितमा काम गर्दै आएका बताइन् । उनले सांस्कृतिक सभ्यता बोकेको महानगरभित्र दिगो विकासका निमित्त महानगर सधै अग्रसर रहेको बताइन् ।

‘स्थानीय सरकारको हैसियतले नीतिगत कानुनी विषयमा सफलता हासिल गरेका छौं, महानगरले सहरी सुशासन व्यवस्थापन तथा स्थापनाका लागि विभिन्न कार्यक्रम अगाडि बढाएको छ, आवश्यक नीति तथा योजना तयार गरी कार्यान्वयनमा लागि रहेका छौं,’ उनले भनिन् । डंगोलले महानगरले ल्याएका १० गौरव र २५ स्वर्णिम योजनाहरू सम्पन्न भएसँगै संघीय राजधानीको मुहार फेरिने दाबी गरेकी छिन् ।

उपप्रमुख डंगोलले महानगरपालिकाले विभिन्न नयाँसँगै सिर्जनात्मक क्रियाकलाप अघि बढाइरहेको बताइन् । महानगरका दिवको प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए । कार्यक्रममा बोल्दै उनले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन थप भूमिका खेल्ने बताए ।


‘संघीय गणतान्त्रिक नेपाल भएसँगै स्थानीय तहले विकासको निमित्त सुदृढ भूमिका खेल्दै आएका छन्, हरेक क्षेत्रको व्यवस्थापनमा स्थानीय तह अग्रसर देखिन्छन्, स्थानीय तहलाई आर्थिक रूपमा सक्षम बनाउन पनि मेरो भूमिका हुनेछ,’ उनले भने ।

यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले महानगरभित्र अझै धेरै काम गर्न बाँकी रहेको बताए । ‘महानगरले गरेको कामको बारेमा तपाईंहरु सबैलाई थाहै छ, तर यति कामले पुगेको छैन, अझै महानगरभित्र धेरै काम गर्नुपर्ने छ,’ उनले भने ।

तीनकुनेको मुआब्जा तथा खोला अतिक्रमणको विषयमा काम बाँकी रहेको बालेनको भनाइ छ । उनले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको भूमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।

महानगबाट को-को भए सम्मानित ?

काठमाडौं महानगरपालिकाले महानगरको अवसरमा पारेर उत्कृष्ट व्यक्ति तथा कर्मचारीहरूलाई सम्मान पनि गरेको छ । महागरले २९औं वार्षिकोत्सवको अवसरमा महानगरपालिकाले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई पनि सम्मान गरेको छ ।

महानगरले नेपाल भाषाका गद्य, पद्य, गीत लगायत थुपै साहित्य प्रकाशित गरेका जनकवि दुर्गालाल श्रेष्ठ, धावक बैकुण्ठ मानन्धरका साथै स्ट्रक्चरल इन्जिनियर मनोहरलाल राजभण्डार, अभिनेत्री मनीषा कोइरालालाई पनि महानगरपालिकाले सम्मान गरेको छ ।

यस्तै, एआईजी मीरा चौधरी, फुटबल प्रशिक्षक बालगोपाल महर्जन, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्का, कराँतेकी राष्ट्रिय खेलाडी एरिका गुरुङ, बास्केटबलकी कप्तान सदिना श्रेष्ठ, कराँते प्रशिक्षक केदारेश्वरमान स्थापित पनि सम्मानित भएका छन् । महानगर अनुसार उनीहरूलाई जनही १ लाख ५० हजार नगदसहित सम्मान गरेको छ ।

 

 


Share News