काठमाडौं । नेपालमा वार्षिक १० लाख मेट्रिक टन धान अभाव हुने गरेको छ । नेपाल चामल तेल दाल उद्योग संघका महासचिव दिपक कुमार पौडेलले नेपालमा वर्षभरि १० लाख मेट्रिक टन धान अपुग हुने भएकाले सरकारभारतबाट भन्सार छुटमा आयात गर्नु पर्ने माग गरेका हुन् ।
उनका अनुसार नेपालमा मसिनो धानको उत्पादन कम हुने र वर्षभरि १० लाख मेट्रिक टन नपुग हुने गरेको छ । भन्सार छुट सुविधामा १० लाख मेट्रिक टन धान उपलब्ध गराउन संघले सरकारसाग माग गरेको उनले बताए । यसअघि गत साउन १९ गते परराष्ट्र मन्त्रालयमार्फत् भारतीय राजदुतावासलाई पत्र पठाई भारत सरकारलाई अनुरोध गरेको थियो । तर, हालसम्म धान आयात हुन नसक्दा नेपालमा चामलको मुल्य बढ्न गई उपभोक्तालाई मार पर्ने उनीहरूको भनाइ छ ।
संघका अध्यक्ष कुमुद कुमार दुगडको नेतृत्वमा मंसिर २६ गते धानमन्त्री पुष्पकमल दाहाल, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, वाणिज्य तथा आपूर्ति सचिब नारायणप्रसाद शर्मा दुवाडी, सहसचिव रामचन्द्र तिवारीलाई भेट गर्दै तत्काल भन्सार छुटमा धान आयात गर्नु पर्ने माग राखेका हुन् ।
यस्ता छन् संघले राखेका मागहरू
१. नेपालमा उत्पादन हुने धानले मात्र यहाँको मागलाई धान्न नसक्ने हुँदा भारतबाट धान आयात गर्नुपर्ने नेपालको बाध्यता हो । भारत सरकारले निकासीमा २० प्रतिशत भन्सार महसुल लगाउँदा त्यसको प्रत्यक्ष असर नेपाललाई परेको छ । गत बर्षको तुलनामा यस बर्ष धानको मुल्य सिजनमै प्रति के.जि. १० रुपैयाँले बढि सकेको छ भने धानको मुल्य अझ बढने देखिन्छ । भारतबाट २० प्रतिशत भन्सार महसुल तिरेर धान खरिद गर्दा प्रति के.जी. ५० रुपैयाँ पर्छ भने भन्सार छुट सुविधामा धान आयात गर्दा प्रति के.जी. ४२ रुपैयाँ पर्छ । यसो हुँदा धानको मुल्य प्रति के.जी ८ रुपैयाँ फरक पर्न जान्छ भने चामलको मुल्यमा १६ रुपैयाँको फरक पर्न जान्छ । मुल्यमा यति धेरै फरकले गर्दा भन्सार छली नेपाल भित्रिएको धान र चामलसँग नेपाली उत्पादनले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने हुँदा चामल मिलमा लागेको अरबौको स्वदेशी लगानी जोखिममा पर्न जान्छ ।
२. नेपाली भन्सारमा ५ प्रतिशत कृषि सुधार शुल्क लाग्छ । अब धान आयातमा २५ प्रतिशत भन्सार महसुल लाग्ने भएकोले भारतबाट सहुलियत दरमा धान ल्याउन सकिएन भने चामलको मुल्य आकासिने सम्भावना छ । अरबौंको लगानीमा स्थापना भएका दैनिक जीवनमा अत्यावश्यक खाद्य बस्तु चामलको नेपाली उत्पादन बन्द हुने अवस्था त छँदैछ, आमउपभोक्ता समेत ठूलो मारमा पर्ने भएकोले स्वदेशी चामल उद्योग संरक्षण गरी दिन अनुरोध गर्दछ ।
३. चामल उद्योगले धान प्रसोधन गरी चामल उत्पादनसँगै सह उत्पादनहरू भुस, उद्योगको इन्धनको रुपमा प्रयोग हुने (बोईलर प्लान्ट), कनिका, पशुपंक्षीका दाना, दाना उद्योग, डिस्ट्रिीलरी र स्न्याक्सहरूको कच्चा पदार्थ यी सबै चामल उद्योगकै उत्पादनमा भर पर्ने हुँदा सबैलाई प्रत्यक्ष मर्का पर्छ र चामल उद्योग संगै यी उद्योगहरूबाट देशको अर्थतन्त्र, रोजगारी र देशको राजश्वमा समेत प्रत्यक्ष असर पर्छ ।
४. अहिले नेपालमा भएको धान र उद्योगले खरिद गरेर गोदाममा राखेको धानले लगभग ३ महिनालाई मात्र चामल उपलब्ध गराउन सक्ने हुँदा बेलैमा धान उपलब्ध गराई समस्या समाधानमा पहल गरी दिन नेपाल सरकार लगायत सबै क्षेत्रलाई अनुरोध छ ।