
काठमाडौं । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले गाउँ समृद्ध बनाउने उद्देश्यका साथ महाअभियान चलाएको छ ।
लिम्चुङबुङ गाउँपालिका अथाह पर्यटनको सम्भावना बोकेको स्थान भएकाले पर्यटन प्रवर्द्धन गरेरै गाउँ समृद्ध बनाउने उद्देश्यले गाउँलाई प्राथमिकतामा राखेर ‘एउटै पुस्तामा गाउँ समृद्ध बनाउने लिम्चुङबुङको सपना’ नारासहित महाअभियान सञ्चालन गरिएको हो ।
लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले गाउँपालिकको समृद्धिका लागि सबैभन्दा पहिला मदन भण्डारी हाइ–वेबाट गाउँपालिकासम्म पक्की सडकको निर्माण गर्न केन्द्रित रहेको बताएका छन् ।
लिम्चुङबुङ गाउँपालिका अथाह पर्यटनको सम्भावना बोकेको स्थान भएको र यहाँबाट सगरमाथासहित ६ वटा ८ हजार मिटर अग्ला मनोरम हिमाल आँखा अघिल्तिरबाट हेर्न सकिने अध्यक्ष राईको भनाइ छ ।
यस क्षेत्रमा रहेका प्राकृतिक स्रोतको भरपूर उपयोग गर्न प्रकृति, संस्कृति र कृषिलाई बेच्नमात्र सके पनि यस क्षेत्रका बासिन्दाले राम्रो लाभ लिने सकिने बताइएको छ ।
लिम्चुङबुङ गाउँपालिकाका पर्यटन सल्लाहकार एवं उद्यमी रामसुन्दर बके गाउँपालिकाको पर्यटन प्रवर्द्धन गर्न सके स्थानीय कृषिजन्य उपजले राम्रो बजार पाउनुका साथै स्थानीयस्तरमा समेत रोजगारी सिर्जना हुने बताउँछन् ।
‘युवालाई आफ्नै स्थानमा रोजगारीको सिर्जना गर्न सक्ने प्रमुख माध्यम भनेको पर्यटन क्षेत्र हो,’ उनले भने, ‘गाउँका युवालाई वैदेशिक रोजगारीमा जान रोक्नका लागि पनि गाउँपालिकाले यो महाअभियान चलाउन लागेको हो ।’
पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकामा होम–स्टे सञ्चालन गर्ने तयारी रहेका बके नेपालमा रहेका ७ सय होमस्टेलाई ७ लाख बनाउने योजनाका साथ अगाडि बढेको बताउँछन् । उनी भन्छन्, ‘७ सय हाेम-स्टेलाई ७ लाख पुर्यायौं भने ७ लाखले देशमै रोजगारी पाउँछन् ।’
गाउँपालिकामा रहेको एभरेष्ट भ्यूटावरबाट आँखैअघि सेताम्मे हिमाल, पहाडलगायत तराईका फाँटहरूको मनोहर दृश्य अवलोकन गर्न सकिने भएकाले एकपटक लिम्चुङबुङ गाउँपालिका भ्रमण गर्न पनि बकेले आग्रह गरेका छन् ।