
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले आफ्नो जिम्मेबारीबाट मंसिर २० राजिनामा दिएका थिए । गजुरेलले प्रधानमन्त्री प्रचण्डलाई लिखित रुपमा पत्र बुझाएर नै राजीनामा बुझाएका थिए ।
राजनीतिक शक्ति सन्तुलन र अर्थतन्त्रको कठिन अवस्थाको बीचमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीको छोरी गंगा दाहालको भूमिकासँग जोडेर पछिल्लो समयमा केही प्रश्नहरु उठन थालेको थियो । साथै तीन दर्जनको संख्यामा भएको सचिवालयको सामूहिक भूमिका नभएको पनि गुनासो बाहिर आउन थालेको थियो । सोही सन्दर्भ उठ्दै गरेको अवस्थामा राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिएको राजीनामालाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
गजुरेलले किन राजीनामा दिएको भन्नेबारेमा स्वीकृत भइसकेपछि खुलाउने बताएका छन्, सँगै उनले प्रधानमन्त्रीसँग कुरा नमिलेपछि बाहिरिएको सोमबार सञ्चारमाध्यमसँग कुरा गर्दै प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री र गृहमन्त्रीसँग कुरा नमिलेपछि राजीनामा दिएको उनले बताएका छन् ।
‘पछिल्लो समयमा हो, खास विवाद त होइन। मैले गम्भीर रूपमा उठाएका कुराहरू प्रधानमन्त्री र गृहमन्त्रीले गम्भीरतापूर्वक लिनु भएन’, गजुरेलले भने ‘खास एउटा मोड आयो त्यो कुरामा हामी एक ठाउँमा भएनौँ, अनि म त्यो भूमिकाबाट अलग भएँ।’
आफूले छाडेपछि उठ्ने प्रश्नको जवाफ दिनेगरी स्पष्ट पारेर राजीनामा दिएको गजुरेलको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले गत वर्ष माघ ९ गते हरिबोल गजुरेललाई आफ्नो मुख्य सल्लाहकार नियुक्त गरेका थिए । गजुरेलले मंसिर २० गते राजीनामा दिएका हुन् ।