काठमाडौं । वाणिज्य बैंकहरूले सेयरधितो कर्जा बढाएका छन् । यसअघि केही सुस्ताएका बैंकहरूले पछिल्लो समय सेयरधितो कर्जा बढाउन थालेका हुन् । वाणिज्य बैंकहरूले असोजसम्म प्रवाह गरेको सेयरधितो कर्जा एक वर्षअघिकै हाराहारीमा हो ।
यसअघि नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा कडाइ गरेपछि केही हच्किएका बैंकहरूले पछिल्लो केही महिना यता भने सेयर धितो राखेर लगानीकर्तालाई सजिलै कर्जा प्रवाह गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा लगाइएको १२ करोडको सीमा हटाएर १५/२० करोड कायम गरेको छ ।
चालु आर्थिक वर्षको असोजमा बैंकहरूले लगानीकर्तालाई ६३ अर्ब ३३ करोड २३ लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको असोजको तुलनामा ४.९४ प्रतिशत धेरै हो । गत वर्षको असोजम्म बैंकहरूले ६० अर्ब ३४ करोड ८१ लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका थिए ।
गत असोजसम्म अधिकांश बैंकहरूले घटाउँदा पनि सेयर कर्जा २ अर्ब ९८ करोड ४० लाख रुपैयाँले कर्जा बढाएका हुन् । राष्ट्र बैंकको तथ्याङ्कअनुसार सबैभन्दा धेरै सेयर कर्जा बढाउनेमा एनआईसी एशिया बैंक रहेको छ । यस बैंकले गत वर्षको तुलनामा १७६ प्रतिशत अर्थात् २ अर्ब २५ करोड बढाएर ४ अर्ब ५८ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको हो ।
यस्तै, एभरेष्ट बैंकले ७२.५६ प्रतिशत अर्थात् ५५ करोड रुपैयाँ बढाएर १ अर्ब ३१ करोड रुपैयाँ, नबिल बैंकले ६०.५० प्रतिशत अर्थात् ४ अर्ब ७ करोड रुपैयाँ बढाएर १० अर्ब ८० करोड रुपैयाँ, प्राइम बैंकले २५.७३ प्रतिशत अर्थात् ८२ करोड ६३ लाख रुपैयाँ बढाएर ४ अर्ब ३ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् ।
यसैगरी नेपाल बैंकले २२.८८ प्रतिशत अर्थात् ८२ करोड ९५ लाख रुपैयाँ बढाए ४ अर्ब ४५ करोड रुपैयाँ, सिद्धार्थ बैंकले ६.६० प्रतिशत अर्थात् २४ करोड ८३ लाख रुपैयाँ बढाएर ४ अर्ब ५२ करोड रुपैयाँ र कृषि विकास बैंकले १.४९ प्रतिशत अर्थात् १ अर्ब १७ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् ।
एक दजर्न वाणिज्य बैंकले भने गत असोजसम्म कर्जा प्रवाह घटाएका छन् । सिटिजन्स बैंकले २.२६ प्रतिशत अर्थात् ८ करोड ८१ लाख रुपैयाँ घटाएर ३ अर्ब ८० करोड रुपैयाँ, कुमारी बैंकले ३ प्रतिशत अर्थात् ११ करोड ९१ लाख रुपैयाँ घटाएर ३ अर्ब ७६ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४.८९ प्रतिशत अर्थात् २२ करोड १० लाख रुपैयाँ घटाएर ४ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
यस्तै, ग्लोबल आइएमई बैंकले ७.८९ प्रतिशत अर्थात् ५३ करोड ४२ लाख रुपैयाँ घटाएर ६ अर्ब २३ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १५.५६ प्रतिशत अर्थात् ६१ करोड ४४ लाख रुपैयाँ घटाएर ३ अर्ब ३४ करोड रुपैयाँ, प्रभु बैंकले १८.६८ प्रतिशत अर्थात् ८२ करोड ३५ लाख रुपैयाँ घटाएर ३ अर्ब ५८ करोड रुपैयाँ, हिमालयन बैंकले २५.९२ प्रतिशत अर्थात् ८७ करोड ९१ लाख रुपैयाँ घटाएर २ अर्ब ५१ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका हुन् ।
यस्तै, सानिमा बैंकले २५.९९ प्रतिशत प्रतिशत अर्थात् ४२ करोड ८८ लाख रुपैयाँ घटेर १ अर्ब २२ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले २६.७६ प्रतिशत अर्थात् ८७ लाख रुपैयाँ घटाएर २ करोड ३९ लाख रुपैयाँ, एनएमबि बैंकले २७.३७ प्रतिशत अर्थात् ४१ करोड १० लाख रुपैयाँ घटाएर १ अर्ब ९ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंकले ४२.१२ प्रतिशत अर्थात् १ अर्ब ८७ करोड रुपैयाँ घटाएर २ अर्ब ५६ करोड रुपैयाँ र माछापुच्छ्रे बैंकले ४९.२२ प्रतिशत अर्थात् ४९ करोड २३ लाख रुपैयाँ घटाएर ५० करोड ७८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् ।
