काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईपीओ, हकप्रद, एफपीओ निष्काशन रोक्न नहुने बताएका छन् ।
महासंघका अध्यक्ष ढकालले पछिल्लो दुई महिनादेखि धितोपत्र आईपीओ, हकप्रद, एफपीओ निष्काशनलाई स्थगित गर्नु बजारको लागि राम्रो नभएको भन्दै तत्काल खोल्न आवश्यक रहेको बताए । अध्यक्ष ढकालले सरकार वर्तमान अर्थतन्त्रलाई चलायमान बनाउन र लगानी जुटाउनको लागि लगानी सम्मेलन गर्ने तर लगानी सञ्चिति हुने आईपीओ निष्काशन स्थगित गर्नु नहुने बताए ।
शुक्रबार अध्यक्ष ढकालले संघीय, प्रदेश र स्थानीय सरकारहरुले समेत लगानी सम्मेलन गरिरहेको जानकारी दिए । उनले तीनै तहका सरकारको लगानी भित्र्याउन पहल भइरहेको अवस्थामा रियल क्षेत्रका कम्पनीहरु आईपीओ निष्काशनको तयारी पूरा हुँदा समेत अनुमति नपाउनु राम्रो नभएको बताए । मुलुकमा वैदेशिक लगानी भित्र्याउनुपर्छ भन्ने तर सम्पूर्ण तयारीहरु पूरा गरेका कम्पनीहरुको आईपीओ रोकिँदा पुँजी थप गर्ने योजना बनाएका कम्पनीको व्यवसाय बिस्तारदेखि कर्जा र इकुटीको रेसियो व्यवस्थापन समस्या पर्ने थालेको उनको भनाइ छ ।
सरकार र धितोपत्र बोर्डले रियल क्षेत्रलाई प्रोत्साहन गरी आईपीओ निष्काशन तत्काल अनुमति दिन आवश्यक रहेको बताए । अध्यक्ष ढकालले सबै प्रक्रिया र मापदण्ड पूरा गरेर आईपीओ निष्काशनको लागि तयारी गरेका कम्पनीहरुलाई अटो पाइलटको रुपमा आईपीओ निष्काशनमा जाने व्यवस्था गर्नुपर्नेमा जोड दिए । सरकारले लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्ने र राजश्व बढाउने प्राथमिकता दिएको बताए । सर्वसाधरणहरुलाई कम्पनीको शेयर मालिक बनाउनको लागि अटोपाइलटको रुपमा आईपीओ निष्काशन अनुमति दिन आवश्यक रहेको बताए ।
‘नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा वैदेशिक लगानी भित्र्याउने हिसावले विभिन्न देशमा समेत लगानी सम्मेलनहरु गर्दै आएका छौं, निजी क्षेत्रको तर्फबाट महासंघले लगानी भित्र्याउनको लागि पहल गरिरहेको छ, सरकार र धितोपत्र बोर्डले रियल क्षेत्रलाई प्रोत्साहन गर्ने आईपीओ निष्काशनमा लैजाने काम रोकिदा असजिलो परेको अवस्था छ’, उनले भने, ‘सबै प्रक्रिया र मापदण्ड पूरा गरेर आईपीओ निष्काशनको लागि तयारी गरेका कम्पनीहरुलाई अटो पाइलटको रुपमा जाने व्यवस्था गर्नुपर्छ, नयाँ आउने लगानीकर्ताहरुले पनि कम्पनी अप्रेसनमा आइसकेपछि आईपीओमा लगेर पुँजी वृद्धि गर्ने योजना बनाएको हुन्छ, सरकारको कर्जा नीतिको कारण केही कम्पनीहरुको बैंकहरुबाट कर्जा लिन सकेका छैनन्, आईपीओ निष्काशनले वर्तमान आर्थिक समस्या समेत केही सहज बनाउन सक्छ ।’
उनले सरकारको कर्जा नीतिको कारण केही कम्पनीहरुको बैंकहरुबाट कर्जा लिन नसकेको अवस्थामा त्यस्ता कम्पनीहरुलाई आइपीओ निष्काशन अनुमति दिँदा व्यवसायीहरुले भोग्दै आएको आर्थिक मन्दिलाई समेत सहयोग पुग्ने अपेक्षा रहेको बताए । आईपीओ निष्कासनले वर्तमान आर्थिक समस्या समेत केही सहज बनाउने उल्लेख गरे ।