‘मौद्रिक नीतिको समीक्षा सकारात्मक छ, ब्याज घट्ने हुँदा खुसी छौं’

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सकारात्मक रहेकाे उद्योगी व्यवसायीहरूले  प्रतिक्रिया दिएका छन् । माग र आवश्यकताअनुसार नै नआएपनि तुलनात्मक रुपमा सकारात्मक आएको उनीहरुको प्रतिक्रिया छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मौद्रिक नीति मध्यमार्गी एवं केही खुकुलो भएर आएको बताए । ‘मौद्रिक नीतिले मध्यमार्गी जस्तो केही [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सकारात्मक रहेकाे उद्योगी व्यवसायीहरूले  प्रतिक्रिया दिएका छन् । माग र आवश्यकताअनुसार नै नआएपनि तुलनात्मक रुपमा सकारात्मक आएको उनीहरुको प्रतिक्रिया छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मौद्रिक नीति मध्यमार्गी एवं केही खुकुलो भएर आएको बताए । ‘मौद्रिक नीतिले मध्यमार्गी जस्तो केही खुकुलो गरेको छ, विज्ञहरुको सल्लाहकार समूह राखेर सल्लाह सुझाव लिएर काम गर्ने भन्ने आएको छ यो सकारात्मक छ’, उनले भने, ‘अहिले अर्थतन्त्र जुन सुस्त गतिम गइरहेको छ, यसमा अलिकति मसला थप्ने काम भएको छ ।’ ब्याजदर भने एकल अंकमा झारिनुपर्ने उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले मौद्रिक नीति समीक्षा सकारात्मक भएर आएको प्रतिक्रिया दिएका छन् । विकासन्युजसँग कुरा गर्दै उनले बैंकदर र बोलकबल दर घटाएको र पुर्नसंरचनाले उद्योगी व्यवसायीहरुलाई सहज हुने बताए ।

‘नीतिगत दर र बोलकबल दर घटाएकोले ब्याजदर घटाउनलाई मद्दत पुग्छ, पुर्नसंरचनाले पनि सहज हुन्छ, माइक्रोफाइनान्सले पनि पुर्नसंरचना गर्न पाउने कुराले आम जनताले सुविधा पाउन सक्छन्’, उनले भने, ‘रियल स्टेट र शेयर मार्केटमा घटाएको क्यापिटल चार्जले पनि सकारात्मक हुन्छ जस्तो लागेको छ । साथै उनले आफूहरुले उठाएका केही मागहरु सम्बोधन भएको बताए ।

त्यस्तै, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले मौद्रिक नीति प्रोग्रेसिभ भएर आएको साथै आफूहरुको केही माग सम्बोधन भएर आएको बताए ।

‘मौद्रिक नीति केही प्रोग्रेसिभ भएर आएको छ, घरजग्गा र शेयरको जोखिम भार घटाएको छ, जग्गाको भ्यालुएसनको ६० प्रतिशत ऋण पुर्याइएको छ’, उनले भने, ‘विभिन्न टुल्स प्रयोग गरेर ब्याजदर डेढ प्रतिशत सम्म घट्न सक्ने देखिन्छ, ब्याजदर घट्ने र ऋणको पुर्नसंरचना हो, तुलनात्मक रुपम सकारात्मक छ ।’

निर्यात गर्ने उद्योग र एसएमई उद्योगलाई दिइएको पुर्नकर्जा सुविधा भने छुटाइएको उनको भनाइ छ ।

Share News