काठमाडौं । भक्तपुर गट्ठाघरका सिद्धान्तराज दाहाल अहिले चार्टर्ड एकाउन्टेन्ट (सीए)को पढाइ सकेर ट्रेनिङ (प्रशिक्षण) लिरहेका छन् । नेपालमै सीए पढेका उनी पाँच महिनापछि प्रशिक्षण सकेर आफै सीए फर्म खोल्ने तयारीमा छन् । सन् २०१८ को जुनमा सीए पढ्न सुरु गरेका उनले साढे ५ वर्षपछि पढाइ सके । प्लसटुमा विज्ञान लिएर पढेका उनले यो विषयमा थाहा पाएपछि पढाइ सुरु गरे ।
प्रशिक्षणको लागि सी आर पाण्डे एण्ड कम्पनी फर्ममा भेटिएका उनी भन्छन्, ‘सुरुमा केही थाहा थिएन, विज्ञान विषय पढ्न थालेँ, अवसर त सीए पढ्दा पाइने रहेछ भन्ने लाग्यो, पछि यही पढेँ ।’
सीए पढ्नका लागि नेपालमा त्यस्तो कुनै छुट्टै विद्यालय वा कलेज छैन । सिद्धान्तले नयाँ बानेश्वरमा रहेको प्राइम सीए इन्स्टिच्युटमा गएर पढ्न थाले । ‘क्याप वान’ र ‘क्याप टु’ इन्स्टिच्युटमै पढेका उनले ‘क्याप थ्री’ आफै घरमा अध्ययन गर्दै सीए फर्ममा काम गर्दै पढ्न थाले ।
‘पहिलो तह र दोस्रो तह गरिसकेपछि काम गर्दै पढ्न मिल्छ, मिहिनेत र पैसा कमाउने इच्छा राख्ने साथीहरूका लागि सबैभन्दा राम्रो यही हो,’ उनले भने ।
उनलाई यो पढ्न धेरै खर्च लागेन । पहिलो तह पढ्न ६० हजार र दोस्रो तह पढ्दा ९० हजार लाग्यो । तेस्रो तह पढ्दा काम गर्दै पढेको उनी बताउँछन् ।
उनि थप्छन्, ‘आफ्नै घरमा बसेर सीए पढन पाउनु खुसीको कुरा हो, जसरी मैले घरमै बसेर पढेँ, भारत वा अन्य देश गएर पढेको भए सायद यति सहज हुँदैन थियो ।’
२७ वर्षअघि सीए पढ्ने नेपालीहरूको गन्तव्य भारत वा तेस्रो मुलुक हुन्थ्यो । नजिकको देश सहजरूपमा जान मिल्ने, काम गर्दै पढ्न सकिने भएपछि भारत नेपालीहरूको पढाइको केन्द्र बनेको थियो । कतिपयले आफू कमाएर छोराछोरीलाई उतै पढाउने पनि गर्थे । तर, अहिले अवस्था फेरिएको छ । अब सीए पढ्नकै लागि भनेर विद्यार्थी भारत वा अन्य देश गइरहनु पर्दैन ।
वि.सं. २०५३ मा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) गठन भयो । त्यसको केही वर्षपछि नेपालमा औपचारिकरूपमा सीएको पढाइ हुन थाल्यो । नेपालमा सीएको पढाइ वि.सं २०५६ सालबाट सुरु भएको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (आइक्यान) का अनुसार अहिले सीए पढाउनकै लागि कतिपय इन्स्च्यिुटहरूले आइक्यानसँग सम्बन्धन लिएका छन् । तर, धेरैजसो इन्स्च्यिुटहरूले भने सम्बन्धन नलिएर पनि पढाइरहेका छन् ।
नेपालमा कसरी पढाइन्छ ?
नेपालमा सीए पढ्ने तथा पढाउने कुनै विद्यालय वा कलेज छैन । अन्य विद्यालय कलेजजस्तै सीए पढ्ने विद्यार्थीले १० बजेदेखि ५ बजेसम्म कलेज गइरहन पर्दैन । यो घरमै बसेर पढ्न सकिने भएकाले यसलाई सेल्फ स्टडी कोर्स पनि भन्ने गरिन्छ ।
विद्यार्थीले घरमै बसेर वा कुनै इन्स्टिच्युटमा गएर पढ्न सक्छन् । नेपालमा अहिले जताततै कोचिङ सेन्टर तथा इन्स्टिच्युटहरूमा सीएको ट्युसन वा कोचिङ पढाइ हुन्छ ।
यसका लागि इन्स्टिच्युट पिच्छे पैसा पनि फरक लाग्छ । यो पढाइ गर्न कोचिङ सेन्टर, इन्स्टिच्युटहरूले कुनै सम्बन्धन लिइरहन पर्दैन । तर, सम्बन्धन लिएर पढाउन सुरु गर्ने इन्स्टिच्युटहरूको भने आइक्यानले अनुगमन गर्छ ।
आइक्यानका निवर्तमान अध्यक्ष भाष्करसिंह लालाका अनुसार सम्बन्धन लिएका इन्स्च्युटहरूको आइक्यानले पढाइ कसरी गरिरहेको छ, शुल्क कसरी लिरहेको छ, पढाइको गुणस्तर कस्तो छ भन्नेबारे अनुगमन गर्छ ।
अहिलेसम्म नेपालमा पढ्दै गरेका वा पढिसकेकाहरुले यसैगरी पढिरहेका छन् ।
पढ्न के गर्ने ?
तपाईं नेपालको जुनसुकै ठाउँमा हुनुहुन्छ प्लस टु पास गर्नुभएको छ भने सहजरूपमा सीए पढ्न सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (आइक्यान) मा गएर नाम दर्ता गर्नुपर्छ ।
नाम दर्ता गर्न जाँदा (आइक्यान)को नियम अनुसार तोकिएको रकम तिर्नुपर्छ । पढाइ हुने विषय कसरी कहाँ पढ्ने भन्नेबारे सबै जानकारी आइक्यानले नै दिन्छ । यति थाहा पाइसकेपछि सजिलै नेपालमा सीए पढ्न सकिन्छ ।
तीन तहमा पढाइ
सीए पढ्नका लागि तीन तहमा पढाइ हुन्छ । क्याप एक– पहिलो तह यसलाई फाउण्डेशन लेबल भनिन्छ । यो पढ्न कक्षा १२ पास गरेको हुनुपर्छ । कक्षा १२ जुनसुकै विषय लिएर पढेको भएपनि उसले सीएको पहिलो तह पढ्न पाउँछ । यो पास गरिसकेपछि क्याप टु अर्थात दोस्रो तह पढ्न सकिन्छ ।
दोस्रो तह– यो तहमा दुई किसिमले पढाइ हुन्छ । एउटा फाउण्डेशन पास गरेर आएको अर्को स्नातक पास गरिसकेको विद्यार्थीले सिधै दोस्रो तहमा आएर पढ्न सकिन्छ । दोस्रो तह पनि पास गरिकेकाले तेस्राे तहमा पढ्न पाउँछन् ।
तेस्रो तह- पहिलो तह र दोस्रो तहमा घरमै बसेर पढ्दा पनि हुन्छ । विद्यार्थीले चाहेको अवस्थामा कोचिङ सेन्टरमा पनि गएर पढ्न सक्छ । तर, परिक्षामा अनिवार्य पास हुनुपर्छ । तेस्रो तहमा तीन वर्षको ट्रेनिङ गर्नुपर्छ । सीए फर्ममा गएर तीन वर्ष ट्रेनिङ गरिसकेपछि परीक्षा पनि दिँदै जानुपर्छ । ट्रेनिङ गर्न जाँदा सीए फर्मलाई कुनै पैसा तिर्नु पर्दैन बरु सीए फर्मले उल्टै पैसा दिएर प्रशिक्षण गराउँछ । तीन वटै तहको परीक्षा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) नै लिने गर्छ ।
अन्य देशबाट आएकाले परिक्षा दिनुपर्छ
भारत वा अन्य देशबाट पढेर आएका सीएका विद्यार्थीहरूले नेपालमा एक वर्षको प्रशिक्षण लिएर परीक्षा पास गर्नुपर्छ । यसका लागि नेपालमा दुई किसिमको व्यवस्था छ । एउटा, सदस्यतामात्र लिने । नेपालको कानुन र आय कर विषयमा परीक्षा मात्र दिएर पास गर्दा हुन्छ । किनभने कानुन र कर देशअनुसार फरक भएकोले यो परीक्षाको व्यवस्था गरिएको निवर्तमान अध्यक्ष लालाले बताए ।
अर्को, जसले पास गरेर नेपालमै काम पनि गर्छु, लाइसेन्स पनि लिन्छु भन्छन् उनीहरूका लागि थप एक वर्ष तालिम हुन्छ । सीए र्फममा गएर १ वर्ष तालिम लिसकेपछि फेरि परीक्षा दिनुपर्छ । यति गरिसक्यो भने उसले लाइसेन्स पनि पाउँछ काम गर्न पनि पाउँछ । तर, नेपालमै पढेकाहरूले भने यो गरिरहन पर्दैन ।
पर्वतकी प्रतिक्षा पौडेल भारतमा सीए पास गरेर अहिले नेपाल आएकी छन् । उनी अहिले सीएको लाइसेन्सको लागि एक वर्षको प्रशिक्षण लिइरहेकी छन् ।
‘म भारतमा पढें, त्यहाँ र यहाँको कानुन र करको नीति फरक छ , नेपालको कानुन र कर नीतिबारे थाहा पाउन यो तालिम अनिवार्य छ, अब मेरो प्रशिक्षण सकेर परीक्षा दिने तयारी गरिरहेकी छु,’ उनले भनिन् ।
सीए पढिसकेपछि उनको अनुभव पनि सिद्धान्तको जस्तै छ । यो पढाइ मिहिनेत र कम खर्चिलो हुने भएकाले अन्य कोर्सभन्दा राम्रो छ । उनी अरुलाई पनि सीए पढ्न आग्रह गर्छिन् । उनी भन्छिन्, ‘मनैदेखि इच्छा र मिहिनेत गर्न सकियो भने असम्भव केही हुँदैन ।’
अहिले नेपालमा १४ हजार ४ सय ५९ विद्यार्थीहरू सीए अध्ययन गरिरहेका छन् । नेपालमै सीए पढेर ८ सय १५ जना पासआउट भइसकेका छन् भने भारत वा अन्य देशबाट पढेर आएका १ हजार ३ सय २२ जनाले आइक्यानबाट अनुमतिपत्र लिइसकेका छन् । आइक्यानमा आबद्ध सीएको सख्या २ हजार १ सय १३ छ । सीए पढेकाले मुख्यतः लेखापरीक्षण गर्न सक्छन् । सीएमा लेखा, वित्तीय शास्त्र, व्यवस्थापन, कर, व्यापार कानुनलगायत विषय पढाइने भएकाले उत्तीर्ण जनशक्तिले परामर्शदाताको रूपमा पनि काम गर्नसक्छन् ।
कोर्ष पूरा गर्न कति लाग्छ समय ?
इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्स अफ नेपाल (आइक्यान) ले सञ्चालन गर्ने कोर्ष अन्तर्गत क्याप–१ को ६ महिना,क्याप–२ को ९ महिना र क्याप–३ को तीन वर्ष गरी लगभग ४ वर्ष ३ महिनाको समयावधिमा सीएको अध्ययन पूरा गर्न सकिन्छ ।
सीएको प्रभाव बढ्दै
आजभोलि नेपालमै सीए पढ्नेहरूको संख्या बढिरहेको आइक्यानले जनाएको छ । पहिले नेपालमा पढाइ हुँदैन थियो आजभोलि आफ्नै देशमा बसेर पढन पाउने भएपछि सीए पढ्ने विद्यार्थीको सख्या बढेको निवर्तमान अध्यक्ष लालाको भनाइ छ ।
उनका अनुसार अहिले नेपालमा यसको सकारात्मक प्रभाव परेको छ । उनी भन्छन्, ‘विगतमा नेपालमै पढाइ हुन थाले पनि भारत जानेक्रम रोकिएन, अब भने भारत भन्दा नेपालमै पढ्नेहरूको संख्या बढिहेको छ ।’
आइक्यान नेपालगञ्ज शाखाका प्रमुख सुमन आचार्य पछिल्लो समय सीए पढ्नेहरूको संख्या बढिरेहको बताउँछन् । नेपालगञ्जमै पनि सीएको विषयमा बुझ्न आउनेहरूको संख्या बढेको सुनाए ।
सीएमा प्रवेश गर्न सजिलो भए पनि पास आउट गर्न अप्ठ्यारो रहेको लालाको अनुभव छ ।
यस्तै, सीए भोलानाथ पाठक पछिल्लो समय नेपाली विद्यार्थीमा सीएप्रति आकर्षण बढेको बताउँछन् । सीए पढेकाहरूलाई सरकारले स्नातकको मान्यता नदिँदा भने समस्या भइरहेको उनको भनाइ छ ।
कति लाग्छ खर्च ?
इन्स्च्युटहरूले पढाएवापतको फरक–फरक शुल्क लिन्छन् । सीए मोटामोटी ५ वर्षको कोर्स हो । सीए पढ्नका लागि साढे तीन लाख रुपैयाँ भए पुग्ने सीए लालाको भनाइ छ ।
‘सीए पढेपछि नेपालमा काम पाइँदैन भन्ने चिन्ता नगर्दा हुन्छ, सीए पास नगरे पनि तीन वर्षको तालिममात्रै लिने हो भने ६०÷७० हजार रुपैयाँ सजिलै कमाउन सकिन्छ, नेपालमा सीएको सम्भावना धेरै छ,’ उनले भने ।