केदार शर्माकी श्रीमतीको बयान : बैंकले ऋण नदिएपछि फोर्स लाउन भारतीय पार्टी कहाँ जानु पर्यो

<p>काठमाडौं । सहकारीका बचतकर्ताको रकम ठगीको आरोप लागेका केदार शर्माकी श्रीमती गिता शर्माले नेपाली बैंकले आफुहरुलाई नपत्याएको बयान दिएकी छन् । शिबशिखर सहकारी र तुलसी सहकारीका बचतकर्ताको रकम ठगीको आरोप लागेकी उनले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)सँग नेपाली बैंकले ऋण नपत्याएर भारतीय पार्टीसँग गुहार माग्न गएको बयान दिएकी हुन् । उनले सञ्चार माध्यममा सहकारीले [&hellip;]</p>

काठमाडौं । सहकारीका बचतकर्ताको रकम ठगीको आरोप लागेका केदार शर्माकी श्रीमती गिता शर्माले नेपाली बैंकले आफुहरुलाई नपत्याएको बयान दिएकी छन् । शिबशिखर सहकारी र तुलसी सहकारीका बचतकर्ताको रकम ठगीको आरोप लागेकी उनले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)सँग नेपाली बैंकले ऋण नपत्याएर भारतीय पार्टीसँग गुहार माग्न गएको बयान दिएकी हुन् ।

उनले सञ्चार माध्यममा सहकारीले बचत फिर्ता गर्न नसकेको समाचार आएपछि आफ्नो श्रीमान केदार शर्माले सहकारीको समस्या समाधानको लागि बैंकबाट ऋण लिन खोज्दा कुनै पनि बैंकले नपत्याएको बताएकी छन् ।

‘मेरो श्रीमान केदारनाथ शर्मा, सहकारीका संचालक समितिका सदस्यहरु, शाखाका प्रवन्धकहरु बसी कुराकानी गर्दा तत्काल रकम अभाव रहेको छ, शाखा खोल्दै गर्नु पैसाको ब्यवस्थापन गर्छु भनी पठाई बैंकहरुबाट ऋण निकाल्न खोज्दा रकमको तरलताको कारण बैंकले ऋण नदिएको, जग्गा बिक्री गर्न खोज्दा जग्गाहरु समेत बिक्री नभएको, सामानहरु बिक्री गरेको रकम समेत नआएको कारणले सहकारी संस्थाहरुमा रहेको बचत फिर्ता गर्न नसकिएको हो,’ उनले बयानमा भनेकी छन् ।

यस्तै, नेपालमा बैंकहरुले ऋण नदिएको कारण केदारनाथ शर्मा २०७९ माघ २८ गते भारत स्थित रहेका पार्टीहरुसँग कुराकानी गरी रकमको ब्यवस्था गर्छु भनी भारतमा गएको बताएकी छन् ।

सहकारीका १ हजार १४५ बचतकर्ताको ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । सहकारीका सञ्चालकले २१ हजार ३६९ जना बचतकर्ताको २ अर्ब ११ करोड ५२ लाख ६२ हजार ३०० रुपैयाँ मध्ये ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ बचत फिर्ता नगरी हिनामिना गरेको भनी जाहेरी प्राप्त भएको भन्दै ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ माग दाबी गरिएको छ ।

प्रतिवादीहरु केदारनाथ शर्मा, सुशिल बाँनिया, भोजराज पौडेल, तेज बहादुर तामाङ, पुष्कर मल्ल, दिपक बहादुर ऐर, राजु साखकर्मी, अमिशराज भण्डारी, लिलानाथ गौतम, गिता शर्मा, रसना शाक्य, शिव प्रसाद पौड्याल, रमेश खाईजु, शुर्दशन कपाली, कुमार श्रेष्ठ, त्रिचन्द्र सुवेदी, शमिना श्रेष्ठ, प्रदिप भट्टराई र बाल मुकुन्द कपालीले सहकारी ऐन अन्तगर्तको कसूर गर्न संगठित अपराध गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ ।

सहकारीका सञ्चालकहरुले संगठित अपराध गरेको भन्दै ६ देखि ८ वर्ष कैद सजाय माग दाबी गरेको छ ।

Share News