यसरी सम्भव भयो यो वर्ष रोपाइँ अगाडी नै रासायनिक मल वितरण

<p>काठमाडौं । गत वर्ष रासायनिक मल लिनका लागि किसानहरु घन्टौँ लाइन लाग्ने गरेको समाचारहरु बाहिरिने गरेका थिए । मल लिनका लागि कृषि सहकारी तथा कृृषि सामग्री कम्पनीमा पुगेका किसानहरु लाइन लाग्दासमेत मल नपाएपछि रित्तो हात फर्कनु परेको गुनासो गर्ने गरेका थिए । रासायनिक मल अभावकै कारण रोपाइँ प्रभावित बन्ने गरेका विषयहरु सार्वजनिक हुने गरेकोमा यस वर्ष [&hellip;]</p>

काठमाडौं । गत वर्ष रासायनिक मल लिनका लागि किसानहरु घन्टौँ लाइन लाग्ने गरेको समाचारहरु बाहिरिने गरेका थिए । मल लिनका लागि कृषि सहकारी तथा कृृषि सामग्री कम्पनीमा पुगेका किसानहरु लाइन लाग्दासमेत मल नपाएपछि रित्तो हात फर्कनु परेको गुनासो गर्ने गरेका थिए ।

रासायनिक मल अभावकै कारण रोपाइँ प्रभावित बन्ने गरेका विषयहरु सार्वजनिक हुने गरेकोमा यस वर्ष भने किसानले सहजै रुपमा मल पाए । तर, यस वर्ष भने कृषकले रोपाइँ गर्नु अघि नै रासायनिक मल पाएको दावी कृषि मन्त्रालयले गरेको छ । सहज रुपमै मल पाएका कारण भदौ पहिलो सातासम्म देशभर ९२ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको तथ्यांकले देखाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता तपेन्द्र रावलले यस वर्ष रोपाइँ हुनु अघि नै देशभर रासायनिक मल पुगेको बताए ।

‘गत वर्ष मल खरिद प्रक्रियामा ढिलाइ, रकम अभाव तथा टेन्डर परेका कम्पनीले मल नल्याउँदा समस्या भएको थियो’, उनले भने, ‘गत वर्ष अभाव भएपछि हामीले चालू आर्थिक वर्ष सुरु भएसँगै उच्च प्राथमिकतामा राखेर मल खरिद गर्याे, सबै निकायको पूर्ण सहयोग हुँदा यस वर्ष सहज रुपमा मल आयात भयो ।’

उनले प्रधानमन्त्रीदेखि कृषि सचिवसम्मले रासायनिक मल खरिदलाई उच्च प्राथमिकतामा राख्दा रोपाइँ अगाडी नै मल आइसकेको बताए ।

‘अहिले रोपाइँ हुँदा सहज रुपमा किसानले मल पाउनुभयो, कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीसँग अहिले पर्याप्त संख्यामा रासायनि मलको मौज्दात छ’, उनले भने, मौज्दातसँगै खरिदको प्रक्रियमा समेत छन्, उनले भने, धानमा जस्तै गहुँ लगाउने समयमा रासायनिक मलकोे अभाव हुँदैन् ।’

उनले यस वर्ष सरकारले मल खरिदका लागि मात्रै ३० अर्ब रुपैयाँ विनियोजन गरेको भन्दै रकम अभावकै कारण मल खरिदमा ढिलाइ नहुँदे दाबी गरे ।

३० हजार मेट्रिक टन स्टक, २ लाख आउने क्रममा

रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले यस वर्ष रासायनिक मलको अभाव नहुने जनाएको छ ।

कम्पनीसँग हाल ३० हजार मेट्रिक टन मल मौज्दात रहेको तथा १ लाख ८० हजार मेट्रिक टन मल आयातको क्रममा रहेको भन्दै कम्पनीले अभाव नहुने दाबी गरेको हो ।

कृषि सामग्री कम्पनीकै कारण यस वर्ष रासायनिक मलको अभाव नहुँने कम्पनीका सूचना अधिकारी पुण्यप्रसाद घिमिरे बताउँछन् ।

‘गत वर्ष रासायनिक मल खरिदका लागि रकम अभावकै कारण हामीले पर्याप्त मल ल्याउँन सकेका थिएनौँ, यस वर्ष पर्याप्त रकम छ, हामी समयमै मल ल्याउने तयारीमा छौँ’, उनले भने ।

११ हजार २६९ मेट्रिक टन युरिया, १३ हजार ५९ मेट्रिक टन डिएपी, ४ हजार १८० मेट्रिक टन पोटास र ८ सय ६६ मेट्रिक टन कृषि चुन गरी कुल ३० हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताए ।

उनले कम्पनीले हालसम्म् ५१ हजार मेट्रिक टन मल आयात गरेकोमा २१ हजार मेट्रिक टन बिक्री भैसकेको बताए ।

कम्पनीले चालू आर्थिक वर्षका लागि ३ लाख ६४ हजार मेट्रिक टन मल आयातकोे तयारी गरेकोमा १ लाख ८० हजार मेट्रिक टन मल आयातको प्रक्रियामा रहेको उनको भनाई छ ।

कम्पनीले उक्त संख्यामा मल आयातका लागि ग्लोबल टेन्डर आह्वान गरेर कम्पनी छनौट गरिसकेको भन्दै केही समयमै मल आयातको प्रक्रिया सुरु हुने जनाएको छ ।

साल्ट्र टेडिङसँग २८ हजार स्टक

साल्ट्र टेडिङ कर्पाेरेशन लिमिटेडले हाल २८ हजार मेट्रिक टन रासायनिक मल स्टक रहेको जनाएको छ ।

कर्पाेरेशनका विभागीय प्रवन्धक ब्रजेशकुमार झा सयमयमै खरिद प्रक्रिाय सुरु गर्दा यस वर्ष मल अभाव नभएको बताउँछन् । ‘हामीले गत वर्षबाट पाठ सिकेर यस वर्ष समयमै मल खरिदको प्रक्रिया सुरु गर्याे प्रधानमन्त्री कार्यालय तथा कृषि मन्त्रालयबाट समयमै सहयोग हुँदा यस वर्ष समयमै खरिद गर्न सकेका हौँ’, उनले भने ।

उनले कर्पाेरेशनले विस २०६८ सालबाट रासायनिक मल खरिद गर्दै आएकोमा चालू आर्थिक वर्षमा मात्र सिजन सुरु हुँनु अगाबै मल ल्याउन सकिएको बताए ।

कर्पाेरेशनले फष्ट्या ट्रयाकबाट समेत मल ल्याउन सक्ने भएको उनले सरकारले मल खरिदका लागि दिएको रकम हुँदासम्म अभाव नहुने दाबी गरे ।

‘हामीले आर्थिक विनियावली अनुसार मल खरिदका लागि ग्लोबल टेन्डर आह्वान गर्न सक्छौँ, सार्वजनिक खरिद अनुगमन नियमावली अनुसार नै गर्नुपर्छ भन्ने हुँदैन, ३ देखि ७ दिनको समय राखेर टेन्डर आह्वान गर्नसक्ने हामीलाइ अधिकार दिइएको छ’, उनले भने ।

उनले हाल कम्पनीसँग ९ हजार २०८ मेट्रिक टन युरिया, १७ हजार ३१० मेट्रिक टन डिएपी र १ हजार ९७८मेट्रिक टन पोटास गरी २८ हजार ४९७ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताए ।

यो वर्ष रासायनिक मल अभाव हुँदैन् कृषिमन्त्री भुसाल

कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताएका थिए । उनले संसद अन्तरगतको प्रतिनिधि सभा बैठकमा यस वर्ष रासायनिक मलको अभाव नहुँने उद्घोष गरिसकेका थिए ।

गत वर्ष रासायनिक मल खरिदका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरेको सरकारले चालू आर्थिक वर्षमा दोब्बर बढाएर ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा उच्च बृद्धि हुँदा विनियोजन भएको रकम अपुग भएपछि गत वर्ष साढे २ लाख मेट्रिक टन हाराहारिमा मात्र नेपालमा मल भित्रिएको थियो । विनियोजन रकम अपुग भएको र अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढाव आएपछि सरकारले चालू आर्थिक वर्ष दोब्बरले रकम विनियोजन गरेको हो ।

Share News