
काठमाडौं । सरकारले पशुपंक्षीसँग सम्बन्धित निकायहरुमा बजेट शुन्यमा पुर्याएको भन्दै पशुपंक्षी तथा मत्स्य क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
उनीहरुले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । सरकारले बजेट वक्तव्यमार्फत पशु क्वारेन्टाइन कार्यालयहरु, पशु रोग अन्वेषण प्रयोगशालाहरु, केन्द्रिय रेफरल पशु चिकित्सालय, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, राष्ट्रिय दुग्ध विकास वोर्ड लगायतका कार्यालयको बजेट शुन्य अवस्थामा रहेको भन्दै आन्दोलन गर्न बाध्य भएको बताएका हुन् ।
नेपाल भेटेरिनरी एशोसिएशनका अध्यक्ष डा. रामकृष्ण खतिवडाले लम्पी स्किन, बर्डफ्लु फैलिएको अवस्थामा समेत सरकारले यससँग सम्बन्धित कार्यालयलाई बजेट नै नदिएको बताए ।
सरकारले यो विषम समयमा पशुपंक्षी क्षेत्रको आयात निर्यात, पशु रोग नियन्त्रणमा प्रत्यक्ष काम गर्ने पशु सेवा विभागका सरकारी संरचनाहरु खारेजी तथा पुनः संरचना गर्ने नाममा सम्बन्धित सरोकारवालाको राय सुझाव नलिई सुनुयोजित ढंगबाट निर्णय गरेको बताए ।
किसानहरुको खर्बौको क्षति हुँदा पनि पशुपंक्षीको रोग नियन्त्रण र उपचारमा सकृय रुपमा परिचालित हुनुपर्ने निकायहरुमा शुन्य बजेट भई काम नै ठप्प गरी बस्नुपर्ने अवस्थाको सृजना भएको उनले बताए ।
पशुपंक्षी क्षेत्रको उत्पादनलाई संकुचित पार्ने र फेरि पनि नेपाललाई दुध माछा, मासु र अण्डाको डम्पिङ साईड बनाई नेपालका पशुपंक्षी उद्योगहरु धरासायी बनाउने अवस्था सिर्जना भएको खतिवडाले बताए ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधक संघ (नेल्टा)का केन्द्रीय अध्यक्ष जनक रावलले बजेट आएको दिन जेठ १५ गते नेपाली पशुपालकका लागि कालोदिन सावित भएको बताए ।
नेपालको पशुपंक्षी क्षेत्रको विकासमा सरकार संवेदनशिल नबनेको उनले बताए ।