सेयर बजारमा कडाइ नै गर्नु पर्छ, जग्गाको कित्ताकाट खोल्नु हुँदैनथ्यो : युवराज खतिवडा

<p>काठमाडौं । सरकारले मंगलबारको मन्त्रिपरिषद बैठकबाट जग्गाको कित्ताकाट खोलेकोप्रति पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले असन्तुष्टि व्यक्त गरेका छन् । नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था, समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा खतिवडाले जग्गाको कित्ता काट खोलेर गल्ती भएको बताएका हुन् । ‘जग्गाको वर्गीकरण खोल्नु सबै समस्याको समाधान [&hellip;]</p>

काठमाडौं । सरकारले मंगलबारको मन्त्रिपरिषद बैठकबाट जग्गाको कित्ताकाट खोलेकोप्रति पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले असन्तुष्टि व्यक्त गरेका छन् ।

नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था, समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा खतिवडाले जग्गाको कित्ता काट खोलेर गल्ती भएको बताएका हुन् ।

‘जग्गाको वर्गीकरण खोल्नु सबै समस्याको समाधान होइन । यसमै सबै कुरा रोकिएको छैन । व्यवहारिक समस्या छ भने समाधान गर्नु पर्छ तर कित्ताकाट मात्रै समाधान होइन’, खतिवडाले भने ।

पछिल्ला दिनका नेपालमा कालोधन्दा बढिरहेको र यसले विदेशी कारोबार नहुने स्थिती बन्न सक्ने भन्दै त्यसलाई रोक्न सरकारले ध्यान दिनुपर्ने उनले बताए ।

पूर्व गभर्नरसमेत रहेका खतिवडाले बैंकहरुले बेसरेट भन्दा तल गएर पनि ब्याज दिएको र यस्तो अभ्यास गलत भएको बताएका छन् । ‘ब्याजदर विभेदकारी हुनु हुँदैन तर ब्याजदरमा जम्प गर्ने अभ्यास बन्द गर्नु पर्छ’, उनले भने ।

राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जा रोक्न प्रोएक्टिभ हुनुपर्ने उनले बताए ।

‘राष्ट्र बैंक रियाक्टिभ होइन प्रोएक्टिभ हुने हो । अनुत्पादक क्षेत्रमा कर्जा रोक्नु पर्छ । सेयर बजारमा बढी कर्जा जानू हुँदैन । सेयर बजार धितोपत्र बोर्डको कन्सर्नको विषय हो राष्ट्र बैंकको होइन’, खतिवडाले भने ।

खतिवडाले एक महिनामा राजश्वभन्दा चालु खर्च ३५ अर्बले बढी भइसकेको भन्दै राजस्व बढाउने तिर ध्यान जानुपर्ने बताए ।

‘आर्थिक विकास नभएपछि व्यापार घट्छ नै । व्यापार घट्नु भनेको आर्थिक मन्दी हुनु हो । ब्याजदर पनि बढी छ’, खतिवडाले भने, ‘सबैभन्दा ठूलो मुद्दा भनेको व्यवसायीको विश्वास र सुरक्षाको हो ।’

चालु आर्थिक वर्षमा बजेटले लिएको लक्ष्य अनुसारको आर्थिक वृद्धि हुन चुनौति नै रहेको उनले बताए ।

कार्यक्रममा खतिवडाले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंतर्फ संकेत गर्दै अराजक गतिविधि गर्नेहरुलाई राज्यले तत्काल पक्राउ गर्नुपर्ने बताए ।
‘अराजक तत्वलाई राज्यले तत्काल पक्राउ गर्नु पर्छ । कालोमोसो दल्ने, अराजक गतिविधि गर्नेलाई सरकारले किन पक्राउ गर्दैन ?’, खतिवडाले भने ।

नेपालमा सुन तस्करी बढेको कारण नेपाल भारत सीमावर्ति क्षेत्रमा भारतीय रुपैयाँको मूल्य सस्तो भएको खतिवडाले बताए ।

Share News