
पोखरा । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा नेपाल आयल निगमले हवाई इन्धन डिपो निर्माणको काम सोमबारदेखि सुरु गरेको छ।
उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उक्त डिपो निर्माणको शिलान्यास गरेका हुन। निगम सञ्चालक समिति अध्यक्ष मधु मरासिनी र आयल निगमका कार्यकारी निर्देशक उमेश थानीको उपस्थितिमा डिपो शिलन्यास भएको हो ।
विमानस्थल परिसरमा निगमले करिब ७७ करोड रूपैयाँ खर्चिएर हवाई इन्धन डिपो निर्माण गर्न लागेको हो। पोखराको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु भए पनि हवाई इन्धन भण्डारण डिपो थिएन ।
विमानस्थल परिसरभित्र डिपो नहुँदा पोखराको घरेलु विमानस्थलबाट रिफ्युलर ल्याएर जहाजमा इन्धन भर्ने गरिएको छ। हवाई इन्धन भण्डारण बनेपछि उक्त झन्झटबाट मुक्त हुने निगमले जनाएको छ। हवाई इन्धन डिपो निर्माण गर्न निगमले नागरिक उड्डयन प्राधिकरण क्यानसँग पोखरा विमानस्थलमा रहेको जग्गा लिजमा लिएको हो।

३६ लाख लिटरका हवाई इन्धन भण्डारण ट्यांकहरु निर्माण गरिने योजना रहेको निगमले जनाएको छ। जसमा १२ लाख लिटरका तीन वटा ट्यांक रहने छन् । ७७ करोड २९ लाख रूपैयाँको परियोजनाका लागि भारतीय कम्पनी बीएचएनसँगको सहकार्यमा रेलिगेयर कन्सट्रक्सन र समानान्तरले ठेक्का पाएका छन्।
उक्त निर्माण कम्पनीले काम सुरु भएको १ वर्षमा डिपो निर्माण सम्पन्न गर्नुपर्ने निगमले बताएको छ।
निगमको अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, भद्रपुर, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीमा इन्धन डिपो छ। मुलुकभर सञ्चालनमा रहेका २९ मध्ये नौवटा विमानस्थलमा मात्र निगमले हवाई इन्धन बिक्री गरे पनि २० वटा विमानस्थलमा हवाई इन्धन डिपो छैन।