
काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा १० अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी महानगरले १० अर्ब २५ करोड ४१ लाख ५६ हजार ६१० रुपैयाँ राजस्व संकलन गरेको हो ।
सो रकम महानगरको राजस्व लक्ष्यको ९८.४१ प्रतिशत मात्रै हो । आन्तरिक आय आर्थिक वर्ष ०७८/७९ मा भन्दा १ अर्ब ३६ करोड ६८ हजार २४६ रुपैयाँले बढी संकलन भएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले बताए । उनका अनुसार महानगरले गत आवमा लक्ष्य भन्दा ९७ करोड बढी राजस्व संकलन गर्न सफल भएको हो । महानगरपालिकाले गत वर्षमा १० अर्ब ४१ करोड ९५ लाख भन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
राजस्व सङ्कलनमध्ये महानगरपालिकाले आन्तरिक आयतर्फ १२० दशमलव १० प्रतिशत प्रगति हासिल गरेको छ । महानगरपालिकाले चार अर्ब ८५ करोड रूपैयाँ आन्तरिक आय तर्फको राजस्व लक्ष्यमध्ये ५ अर्ब ८२ करोड ५१ लाख रूपैयाँ उठाएको हो । जुन अघिल्लो आवको भन्दा एक अर्ब ३६ लाख बढी भएको विभागले जनाएको छ । महानगरले अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ करोड ६८ लाख १२ हजार ५० रुपैयाँ कम राजस्व संकलन गरेको विभागका प्रमुख काफलेले बताए ।
आर्थिक वर्ष ०७८/७९ मा महानगरले आन्तरिक राजस्व ४ अर्ब ४६ करोड भन्दा बढी संकलन गरेको थियो । यस्तै, गत वर्ष महानगरले ३ अर्ब ४१ लाख भन्दा बढी राजस्व बाँडफाँटबाट संकलन गर्ने लक्ष्य लिएको थियो । जसमध्ये एक अर्ब ८५ लाख भन्दा बढी मात्र सो राजस्व संकलन गर्न सफल भएको छ । बाँडफाँट प्राप्त राजस्व अघिल्लो वर्षको भन्दा ६८ करोड ९४ लाख ६ सय ५६ कम संकलन भएको पनि काफ्लेले बताए ।
यसैगरी महानगनरले गत वर्षमा आन्तरिक अनुदान तर्फ २ अर्ब १५ करोड ५६ लाख ७६ हजार अनुमान गरेको थियो भने २ अर्ब ५६ करोड ९८ लाख ४८ हजार १६० प्राप्त भएको छ । आन्तरिक अनुदान लक्ष्य भन्दा ४१ करोड बढी प्राप्त भएको काफ्लेले बताए । आन्तरिक अनुदानमा अघिल्लो वर्षको तुलनामा गत वर्ष २१ करोड २८ लाख ६८ हजार रुपैयाँ कम संकलन भएको हो ।