आजदेखि आर्थिक वर्ष सुरु: हवाई टिकटमा भ्याट, वैदेशिक रोजगारीदेखि विलासितामा थपियो कर

<p>काठमाडौं । सोमबार देखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले गत जेठ १५ गते सार्वजनिक गरेकोे बजेटका विभिन्न कर सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट सार्वजनिक गरे लगतै भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, सडक निर्माण दस्तुर र मोबाइल फोनको दर्ता सम्बन्धी [&hellip;]</p>

काठमाडौं । सोमबार देखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले गत जेठ १५ गते सार्वजनिक गरेकोे बजेटका विभिन्न कर सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट सार्वजनिक गरे लगतै भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, सडक निर्माण दस्तुर र मोबाइल फोनको दर्ता सम्बन्धी व्यवस्था भने कार्यान्वयनमा आइसकेका छन् ।

सोमबारदेखि हवाई टिकटमा १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट), विलासिता कर, पाँचतारे वा सोभन्दा माथिका होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा २ प्रतिशत कर तथा वैदेशिक भ्रमण प्याकेजमा पाँच प्रतिशतसम्म कर लाग्नेछ ।

आजदेखि नै वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउने व्यक्तिहरुलाई ३९ प्रतिशतसम्म कर लाग्नेछ । यसअघि वार्षिक २० लाख रुपैयाँभन्दा माथि कमाउनेका लागि ३६ प्रतिशत कर लाग्ने गरेकोमा सरकारले करका दर तथा रकमको सीमा बढाएको हो ।

यस्तै, सरकारले पहिलो पटक हवाई टिकटमा भ्याट तथा विलासिता कर कार्यान्वयन गरेको छ ।

सरकारले पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरुले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता कर तथा ट्राभल एजेन्सीहरुले बिक्री गर्ने वैदेशिक भ्रमण प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क पनि आजदेखि कार्यान्वयनमा आएको छ ।

१० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि २ प्रतिशतकै दरले विलासिता शुल्क लगाएको छ । सरकारले आयातित मदिरा र १० लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गहनामा समेत सोही दरमा कर लागु हुने बजेटमा उल्लेख छ ।

आयातित मदिराको भन्सार विन्दुमै पैठारीका बेला असुली हुनेछ भने १० लाखभन्दा बढीका धातुका गहना बिक्रेताले असुल गर्नुपर्ने छ ।

यस्तैगरी, साउन १ गतेबाट नै वैदेशिक रोजगारी कर पनि थपिएको छ । वैदेशिक रोजगार व्यवसायी तथा म्यानपावर कम्पनीहरूले श्रमिकहरूबाट उठाउने सेवा शुल्कमध्ये एक प्रतिशत रकम वैदेशिक रोजगार करका रूपमा तिर्नुपर्ने व्यवस्था थप भएको हो । श्रमिकबाट लिइने शुल्कमध्ये एक प्रतिशत सरकारी खातामा ल्याउने व्यवस्था थपिएकाे हाे ।

Share News