
फाइल फाेटाे
काठमाडौं । सरकारले नीति अनुसार हाल सञ्चालित सम्पूर्ण वायुसेवा कम्पनीहरु मूल्य अभिबृद्धि कर (भ्याट) मा दर्ता हुने भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै हवाई टिकटमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेको थियो ।
सोही घोषणा अनुसार साउन १ अर्थात सोमबारदेखि आन्तरिक उडान टिकट मंहगो हुने भएको छ ।
सरकारको नीति अनुसार अन्तरिक उडानको टिकटमा भ्याट लागू भएतापनि अन्तर्राष्ट्रिय उडानमा भने भ्याटको टुंगो लागिसकेको छैन । यसअघि हवाई टिकटमा भ्याट लाग्दैनथ्यो । तर, सरकारले आगामी आर्थिक वर्षबाट हवाई टिकटमा भ्याट अनिवार्य गरेसँगै वायुसेवा कम्पनीहरु भ्याटमा दर्ता हुन थालेका छन् ।
वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल सरकारको नीतिअनुसार सबै वायुसेवा कम्पनीहरु भ्याटमा दर्ता हुन तयार भएको बताउँछन् । ‘अहिलेसम्म हामी भ्याटमा दर्ता समेत छैनौँ, यो पहिलो अभ्यास हुँदा हामीलाई केही समय लाग्यो’, उनले भने, ‘सोमबारदेखि अनिवार्य रुपमा आन्तरिक हवाई टिकट भ्याटमा काटिन्छ ।’
उनले टिकटमा भ्याट लागु भएसँगै टिकटको उपभोक्ता मूल्य बढ्ने बताए । ‘हामीलाई थप १३ प्रतिशत भ्याट पर्छ, सोही अनुसार टिकटको मूल्य पनि १३ प्रतिशत नै बढ्छ’, उनले भने ।
वायुसेवा सञ्चालक संघले सोमबारदेखि अनिवार्य भ्याट लागु हुने भन्दै भाडा बढ्ने जनाएको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै अहिलेको टिकटमा हवाई भाडा सरदरमा ६ प्रतिशतसम्म बढ्ने जनाएको हो ।
अहिले आन्तरिक हवाई टिकटमा ३ वटा शीर्षकमा मूल्य तय भएको हुन्छ । जसमा यात्रु सेवा शुल्क, इन्धन चार्ज र हवाई फेयर रहेको छ । इन्धन चार्ज र यात्रु सेवा शुल्कमा पहिले नै भ्याट रहेको हुँदा दोहोरो भ्याट लाग्दैन ।
अन्यौलमा अन्तर्राष्ट्रिय टिकटको भ्याट
सरकारको निति अनुसार सोमबारदेखि आन्तरिक उडानमा १३ प्रतिशत भ्याट लागु भएतापनि अन्तर्राष्ट्रिय उडानको भने टुंगो लागेको छैन । सरकारले बजेट मार्फत नै हवाई टिकटमा १३ प्रतिशत भ्याट लाग्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन तथा अन्य अन्तर्राष्ट्रिय नियमनकारी निकायले चासो देखाएका छन् ।
आईकाओले नै चासो देखाएपछि तत्कालका लागि आन्तरिक उडानमा भ्याट लागु गरेर विस्तारै अन्तर्राष्ट्रिय उडानमा लागु गर्ने सरकारको तयारी छ । अन्तर्राष्ट्रिय उडानमा भ्याट लागु हुँदा विदेशबाट काट्ने टिकटको संख्या बढ्ने भन्दै व्यवसायीहरुले त्यसको विरोध समेत गर्दै आएका छन् ।