
काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले विकासन्युज डटकमका प्रधानसम्पादक रामकृष्ण पौडेललाई दिएको ज्यान मार्ने धम्कीको विषयलाई लिएर आवश्यक कानुनी कारवाही अगाडि बढाउन इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले माग गरेको छ । इम्सनले शनिबार एक विज्ञप्ति जारी गर्दै कानुनी कारवाहीको लागि सरकार र गृहमन्त्रालयको ध्यानआकर्षण गराएको हो ।
‘विवादास्पद व्यवसायी दुर्गा प्रसाईले विकासन्युज डटकमका प्रधान सम्पादक रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको बिषयमा इकानोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)को गम्भीर ध्यानाकर्षण भएको छ । प्रसाईले २०८० असार २९ शुक्रबार साँझ ६ः५५ बजे ९८०१०५२२२२ नम्बरबाट फोन गरेर पौडेललाई ज्यान मार्ने धम्की दिएका थिए’, इम्सनले विज्ञप्तिमा उल्लेख गरेको छ ।
शक्ति केन्द्रहरुका आडमा विवादित अभिव्यक्ति र गतिविधी गर्दै आईरहेका प्रसाईले इम्सनका संस्थापक अध्यक्ष समेत रहेका पौडेललाई समाचार लेखेकै आधारमा फोन गरेर ज्यान मार्ने धम्की दिनु भत्सर्ना योग्य र आपत्तिजनक भएको इम्सनले जनाएको छ । साथै ज्यान मार्ने धम्की दिनु भनेको प्रेस स्वतन्त्रताको विरुद्धमा मात्रै नभएर ज्यान मार्ने उद्योग सम्बन्धी कानून समेत आकर्षित हुने विषय भएको इम्सनले विज्ञप्तिमा उल्लेख गरेको छ ।
‘सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रसारित सामग्रीहरुमा चित्त नबुझे आफ्ना कुरा राख्ने र कानुनी उपचारमा जाने व्यवस्थाहरु छन् । तर प्रसाईले प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता, नेपालका मौजुदा ऐन कानुनहरुको बर्खिलाप हुने गरि ज्यान मार्ने धम्की दिनु भनेको प्रेस स्वतन्त्रताका विरुद्धमा मात्रै नभएर ज्यान मार्ने उद्मोग सम्बन्धी कानुन समेत आकर्षित हुने बिषय बन्न पुगेको छ’, इम्सनको विज्ञप्तिमा भनिएको छ ।
प्रसाइले सञ्चालन गरेको अभियान गैरकानुनी भएको र उनको पृष्ठभूमी समेत संकास्पद भएको भन्दै छानविन गरेर कानुनी कारवाहीको प्रकृया अगाडि बढाउन इम्सनले प्रहरीलाई अनुरोध समेत गरेको छ । ‘संकास्पद पृष्ठभूमि र गैर कानुनी अभियानहरु चलाएर नेपाली समाजलाई नै बिथोल्ने प्रयास गरिरहेका प्रसाईमाथि आवश्यक छानविन गरि कानुनी कारवाहीको प्रक्रिया अघि बढाउन इम्सन नेपाल सरकार, गृह मन्त्रालय मार्फत नेपाल प्रहरीलाई हार्दिक अनुरोध गर्दछ’, इम्सनका महासचिव नारायण पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।