काठमाडौं । विगत दुई वर्षदेखि आर्थिक अभावकै कारण उपचार नपाएर गम्भिर स्वास्थ्य समस्याका कारण घरमै थलिएका नुवाकोट तारकेश्वर गाउँपालिका वडा नं. ३ चन्दनीका ३१ वर्षिय सन्तोष परियारले अब उपचार पाउने भएका छन् ।
पत्रकार विष्णु तारुकेको पहलमा थालिएको फेसबुकमार्फत आर्थिक सहयोग संकलन अभियानबाट ४ दिनमै एक लाख ९७ हजार ८ सय २० रुपैयाँ जम्मा भएको हो ।
संकलित सहयोग रकम मंगलबार पत्रकार तारुके सहितको उपस्थितिमा परियारको परिवारलाई हस्तान्तरण गरिएको छ । तारकेश्वर गाउँपालिकाका पूर्व अध्यक्ष रमेश बहादुर वस्ती, वडा नं. २ का वडा अध्यक्ष शिव पनेरु र वडा नं. ६ का नारायण रिमालसहित घरमै पुगेर तारुकेले प्राप्त सहयोग रकमको चेक सन्तोषका श्रीमती रितु नेपालीलाई हस्तान्तरण गर्दै अब पैसा अभावकै कारण बिरामी सन्तोषको उपचार नरोकिने विश्वास व्यक्त गरे ।
‘पैसाकै अभावको कारण सन्तोषको उपचार रोकिने अवस्था छैन’, तारुकेले भने–‘उनलाई बचाउन हामीले थालेको अभियानमा सामाजीक सञ्जालबाटै सबैलाई आव्हान गर्यौँ । मानविय यस कार्यमा जोडिन आउनुभएका सबै सहयोगी मनबाट गरिबीकै कारण उपचार अभावमा थलिन पुगेका बिरामीको उपचार पनि सम्भव हुन्छ भन्ने अवस्था बनेको छ ।’ यस अभियानमा पत्रकार तारुकेसहित भारमा रहेका सोही गाउँका दिपक ढकाल, दिनेश परियारसहित धेरै व्यक्तिहरुले पहलकदमी दिएका थिए भने सामाजीक सञ्जालबाटै गरिएको अनुरोधमा करिब एकसय जना सहयोगीहरुले प्रभु बैंक रातमाटे शाखामा रहेको सन्तोषको श्रीमतीको खातामा रकम जम्मा गरिदिएका थिए ।
दुई वर्षअघि वैदेशीक रोजगारीबाट घर फर्किएपछि अकस्मात् बिरामी भएका सन्तोषको एउटा खुट्टा नचल्ने र एउटा आँखा बन्द हुनपुग्यो । उपचारका लागि राजधानी काठमाडौंस्थित शिक्षण अस्पताल पुगेका उनलाई सुरुमै एकलाख रुपैयाँ डिपाेजिट राख्नुपर्ने भनिएको थियो तर, आर्थिक अभावका कारण त्यति ठूलो रकम जम्मा गर्न नसकेपछि उपचार नै सुरु नगरी अस्पतालबाट निस्कनुपर्ने बाध्यता बन्यो ।
त्यसपछि सन्तोषकी श्रीमती आफ्नै गाउँपालिकावासी समेत रहेका पत्रकार तारुकेलाई भेट्न पुगिन र आफ्नो दुःखको कहानी सुनाइन् । सन्तोषले गरिबीकै कारण उपचार नपाउने परिस्थिति आउन नदिन आफूले पहल गर्ने आश्वासन दिएका थिए । १ सयभन्दा बढी व्यत्तिहरुबाट संकलित १ लाख ९७ हजार रकम बिरामीको उपचारमा खर्च हुनेछ ।