अनुसन्धानकर्तासँग गुरुङको प्रतिप्रश्न : अर्बौं ऋण छ, किस्ता कसले तिरिदिन्छ ?

<p>काठमाडौं । ललिता निवास प्रकरणमा असार १२ गते पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङमाथि अनुसन्धान भइरहेको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङलाई अहिले थुनामा राखेर केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनीमाथि अनुसन्धान गरिरहेको हो । ब्यूरोका अधिकृतहरूले गुरुङसँग तीन पटक बयान लिइसकेको बुझिएको छ । अनुसन्धाकर्ताहरुले [&hellip;]</p>

काठमाडौं । ललिता निवास प्रकरणमा असार १२ गते पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङमाथि अनुसन्धान भइरहेको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङलाई अहिले थुनामा राखेर केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनीमाथि अनुसन्धान गरिरहेको हो ।

ब्यूरोका अधिकृतहरूले गुरुङसँग तीन पटक बयान लिइसकेको बुझिएको छ । अनुसन्धाकर्ताहरुले उनलाई विभिन्न ५० वटा प्रश्न सोधेका छन् । सिआईबी स्रोतका अनुसार उनले अनुसन्धानकर्ताको प्रश्नलाई सुुस्त रुपमा जवाफ दिने गरेका छन् ।

स्रोतका अनुसार उनले आफुलाई ललिता निवासको जग्गा सरकारी हो भन्ने जानकारी नभएको बयान दिएका छन् । छानबिन समितिसमक्ष उनले आफुले घरजग्गा व्यवसायीसँग जग्गा खरिद गरेको तर सो जग्गा सरकारी हो भन्ने आफुलाई थाहा नभएको बताएका छन् ।

उनले सो जग्गाको प्रबन्ध रामकुमार सुवेदी र शोभाकान्त ढकालले गरेको पनि बताएका छन् । जो उनका व्यवसायिक साझेदारहरु हुन् । भाटभटेनी डेभलपमेन्ट कम्पनीमा आफ्नो परिवारको ५१ र सुवेदी र ढकालको ४९ प्रतिशत सेयर रहेको पनि उनले बयान दिएका छन् ।

यस्तै, उनले अनुसन्धानकर्ताहरुसँग आफुलाई राज्यले पक्राउ गरेर गल्ती गरेको पनि धारणा राखेका छन् । ‘मेरो यति धेरै सम्पत्ति छ, मैले आफ्नै जग्गा व्यवस्थापन गर्न सकेको छैन, सरकारी जग्गा हो भन्ने मलाई थाहा नै भएन, मलाई पक्राउ नगरेर बाहिरबाट पनि अनुसन्धान गर्न सकिन्थ्यो, राज्यले मेरो सम्पत्तिमा आँखा लगायो,’ उनले अनुसन्धाकर्ताहरुसँग भनेका छन् ।

यस्तै, उनले आफुसँग धेरै ऋण रहेको र अहिले असार मसान्तमा किस्ता तथा सावाँ–ब्याज तिर्नु पर्ने भएकोले त्यसले आफुलाई पिरोलेको पनि बताएका छन् ।

‘यति धेरै सम्पत्ति छोडेर भाग्ने स्थिती छैन, मलाई पक्राउ नगरेर पनि अनुसन्धान गर्न सकिन्थ्यो, मसँग बैंकको अर्बौं ऋण छ, अब त्यो ऋणको किस्ता कसले तिरिदिन्छ ?’ उनले अनुसन्धानकर्तासँग प्रश्न गरेका छन् ।

करिब १३७ रोपनी जग्गा हिनामिनामा उनीसमेत संलग्न रहेको केन्द्रीय अनुसन्धान ब्यूरोको निष्कर्ष छ । सिआईबीले ललिता निवास प्रकरणमा पक्राउ गरिएका १४ जना आरोपितको बयान लिइरहेको छ । बैंक स्रोतका अनुसार गुरुङसँग विभिन्न बैंक तथा वित्तीय संस्थाको १० अर्ब बढी ऋण छ ।

सम्बन्धित सामग्री :  मीनबहादुरको नाममा १० अर्ब ऋण, कसले सम्हाल्छ भाटभटेनीको साम्राज्य ?

Share News