काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र हुन् ।
सीआईबीले मंगलबार दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले बताए ।
यससँगै ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।
वि.सं. २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेपछि उक्त प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ ।
यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो ।